नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पदाधिकारीहरूको संयुक्त बैठक बिहीबार (२०८२ साउन २२ गते)नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा तीनवटै प्रतिष्ठानका कुलपति, उपकुलपति, प्राज्ञपरिषद् सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिसम्बन्धी राष्ट्रिय सम्मेलन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले केन्द्रका तीनवटै प्रतिष्ठानले प्राज्ञिक अध्ययन, अनुसन्धान गहिरो गरी गर्न लगानी व्यापक बनाउनुपर्ने विचार राख्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीले संस्थागत, नीतिगत, कार्यक्रमिक विषयलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले प्राज्ञिक संस्थाहरूको सहकार्यले प्राज्ञिक ज्ञानलाई इस्पातिलो बनाउन मद्दत गर्ने र त्यसले देशको सांस्कृतिक जगलाई बलियो बनाउने बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले समाजवादी प्राज्ञिक अभ्यास गर्ने र सहकार्यका विषयमा खोजी गर्न जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले गणतन्त्र दिवस, सहिद दिवस, संविधान दिवसजस्ता राष्ट्रिय कार्यक्रमहरुमा सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले पावरप्वइन्ट प्रस्तुतिमार्फत प्रतिष्ठानले दुई बर्से अवधिमा सम्पन्न गरेका कार्य, प्रतिष्ठानका योजनागत, कार्यक्रमिक, रणनीतिक र यस आ.व.मा गरिने महत्त्वपूर्ण कार्यहरूका बारेमा विस्तृतमा चर्चा गर्नुभयो । साथै उहाँले केन्द्रका तीनवटा प्रज्ञा–प्रतिष्ठान संयुक्त रूपमा भेला भई छलफल गर्दा यसले सांस्कृतिक क्षेत्रमा राष्ट्रिय महत्त्वका कार्यहरू गर्न अझ सहयोग गर्ने बताउनुभयो । सोक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा प्रगतिले आआफ्ना प्रतिष्ठानले गरेका कार्य र आगामी कार्यक्रमका बारेमा प्रस्तुति दिनुभएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा—प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’, सदस्य सचिव डा. धनप्रसाद सुवेदी प्राज्ञ परिषद् सदस्यहरू डा. मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली (अगिव) नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महरा, प्राज्ञ परिषद् सदस्यहरू कर्णबहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसन समाल, टीका पुन, चेतन सापकोटा, नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले (देवेन्द्र थुम्केली) प्राज्ञ परिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा, अरुणा हिङमाङको उपस्थिति रहेको थियो ।