नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा चोसर आर्टस् मुस्ताङको आयोजनामा शुक्रवार (२०८२ मङ्सिर ५ गते)बाट प्रतिष्ठानमा ‘ट्रेसिङ दि हिमालय’ कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । उहाँले नेपालीपनको कला खोज्ने हो भने यस्तै लोकपरम्परामा भएका र हाम्रै नेपाली जन्मभूमिबाट उठेका सिद्धान्त र दर्शनका आधारमा सिर्जना भएका अवधारणामा बनेका कलाकृतिलाई खोज्नुपर्ने बताउनुभयो । चार जना गतिशील युवाहरूले प्रदर्शन गरेको कलामा हिमाली लोकसंस्कृति तथा नेपालीपन झल्केको जिकिर उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिमवत्खण्डका इथ्नोकग्निटिभ ज्ञानअनुरूप सिर्जित कलासिर्जना तथा आफ्नो जन्मभूमिको नितान्त दर्शनका आधारमा बनेको स्वःकला हिमाली संस्कृति आझेलमा परेका बेला आजको कार्यक्रम नमुना कार्यक्रम बनेको छ ।’ प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले हिमाली जनजीवनका अभ्यासमा रहेको परम्परागत ज्ञानप्रणालीमा आधारित कला सिर्जनाले हाम्रो मौलिक पहिचान जोडेको र यसको संरक्षण तथा प्रवर्धनका लागि विद्यालय, कलेजका पाठ्यक्रममा पनि समावेश गरिनुपर्ने बताउनुभयो ।
छोसेर आर्ट्स मुस्ताङका निर्देशक छिरिङ फोन्जो गुरुङले काठमाडौँमा भइरहेका प्रदर्शनीमा हिमाली भेगको कला कम देखिएको र सबैको नजर नपुगेकाले सबैको ध्यान हिमाली कलामा जाओस् भन्ने उद्देश्य राखेर यस प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । उहाँले अहिले चार जना कलाकार मिलेर गरिएको यो प्रदर्शनी आगामी दिनमा अझै बृहत् रूपमा गरिने जानकारी गराउनुभयो । क्युरेटर मिना लामाले प्रदर्शनीमा नितान्त हिमाली भेगको जनजीवनको आध्यात्मिक अभ्यास तथा सङ्घर्ष चित्रित गरिएको बताउनुभयो । उहाँले मुगु, डोल्पा, सिन्धुपाल्चोक र मुस्ताङको दैनिक जनजीवन, सङ्घर्ष समसामयिक पक्षको दृष्यचित्रमार्फत प्रस्तुत गरिएको बताउनुभयो ।
प्रदर्शनीमा हिमाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकारहरूको कलाकृति रहेको छ, जसमा छिरिङ फोन्जो गुरुङ (मुस्ताङ) को २०, तेन्जिङ आङ्डाक गुरुङ (डोल्पा) को १७, धोर्जे गुरुङ लामा (मुगु) को १८ र पेम्बा शेर्पा (सिन्धुपाल्चोक)को ९ कलाकृति गरी ६४ कलाकृति रहेका छन् । मिना लामा क्युरेटर रहनुभएको प्रदर्शनीमा विशेष गरी ल्यान्डस्केप र थाङ्कालाई राखिएको छ । कार्यक्रममा हिमाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । प्रदर्शनी मङ्सिर ९ गतेसम्म चल्ने छ ।