नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका समसामयिक चित्रकला विभाग र शिल्प–हस्तकला विभागको सहकार्य तथा कोचिन फाइनआर्ट क्लब, भारतको आयोजनामा ‘आइज टु एज’अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बुधबार (२०८२ फागुन २७ गते)बाट सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्ध प्राचीन विरासतदेखि नै गहिरो रहेको बताउनुभयो । उहाँले हिमवत्खण्डदेखि नै दुई देशबिच भाइचाराको सम्बन्ध कायम रहेको उल्लेख गर्दै वैदिक कालदेखि नै सांस्कृतिक र कलात्मक सूत्रहरू जोडिँदै आएको र दक्षिण एसियाली कलामा यसको उल्लेखनीय प्रतिविम्ब देखिने बताउनुभयो ।
भारतीय कलाकार एवं प्रदर्शनीका क्युरेटर Manoj V Delhi ले प्रतिष्ठानसँगको सहकार्यमा यस कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल र भारतबिच परम्परागत रूपमा कला र संस्कृतिका धेरै विषयहरू मिल्दाजुल्दा भएकाले कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
यसै गरी कार्यक्रमका संयोजक एवं प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले यस किसिमका प्रदर्शनीले दुई देशको कला, संस्कृतिको आदानप्रदानमा सहयोग पुग्ने बताउनुभयो ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवाले प्रदर्शनीलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दै कोचिनसँगको सहकार्यले आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्न थप ऊर्जा र प्रेरणा मिलेको बताउनुभयो ।
कार्यक्रममा सहभागी कलाकारलाई प्रमाण–पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । नेपाल, भारत र बङ्गलादेशका कलाकारका ३० कलाकृति रहेको यस प्रदर्शनी फागुन ३० गतेसम्म चल्ने छ ।
 
 
Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.