नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा लोककला विभाग र अग्रासन थारु महिला समाजको संयुक्त आयोजनामा विश्व आदिवासी दिवसका सन्दर्भमा आयोजित ‘अष्टिम्की चित्रकला कार्यशाला’ प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्य र अग्रासन थारु महिला समाजकी अध्यक्ष चम्पाकली चौधरीको सभाध्यक्षमा आइतबार (२०८२ साउन २५ गते ) प्रतिष्ठान परिसर नक्सालमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आदिवासी जनसंज्ञान यस्तै लोकजीवनबाट उठेर आएको हुन्छ । उहाँले भन्नुभयो,– ‘लोककलाभित्र दृष्टिकोण, जनजीवन, जातीय पहिचान, राष्ट्रिय पहिचान पाउँछौँ । यसबाट हाम्रो नेपाली पहिचान झल्कन्छ । यस किसिमका लोककलासम्बन्धी कार्यक्रमहरू गरी यसलाई सही ढङ्गले बढाउन सकियो भने समृद्धिको दिशातर्फ उन्मुख भइन्छ ।’ उहाँले लोककला हाम्रा सांस्कृतिक सम्पदाका जग भएको बताउँदै सांस्कृतिक जागरणका लागि यसको प्रयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले थप्नुभयो, –‘हामीले हाम्रा अमूर्त सांस्कृतिक सम्पदालाई सूचीकृत गर्दै अघि बढ्नुपर्छ ।’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ‘अष्टिम्की चित्रकला र थारु आदिवासी ज्ञान’ विषयक कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै हाम्रा जनजीवन, जीवनपद्धतिसँग जोडिएर नेपालमा विभिन्न संस्कृति, लोककला र ज्ञान विकसित भएको बताउनुभयो ।उहाँले भन्नुभयो,– ‘तिनलाई पुँजीकृत गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी अर्थतन्त्रसँग जोड्न सबै निकाय लाग्नुपर्छ ।’ उहाँले मानवीय जनजीवन र प्राकृतिक सौन्दर्यसँग जोडिएको थारु लोककलाको आफ्नै वैशिष्ट्य र महत्ता रहेको विचार राख्नुभयो । साथै उहाँले नेपाली लोककलाको जगेर्ना, प्रचार–प्रसार र संवर्धनका निम्ति विभिन्न निकायसँगको समन्वयमा प्रतिष्ठानले थारु लोककलासम्बन्धी कार्यक्रमहरू गर्दै आएको बताउनुभयो ।
वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले नेपाली पहिचानलाई जीवन्त बनाउन थारु लोककलाको अहं भूमिका रहेको बताउँदै बदलिँदो परिस्थितिमा अष्टिम्की लोककलाको मौलिकता जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो,– अग्रासन थारु महिला समाज, कामठमाडौँसँग मिलेर यस किसिमको कार्यशाला गरिएको बताउँदै आगामी दिनमा थारु लोककलाको संरक्षण, संवर्धन र प्रचार–प्रसारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
अग्रासन थारु महिला समाज, कामठमाडौँकी अध्यक्ष चम्पाकली चौधरीले थारु समुदायका महिलाहरूले मनाउने अष्टिम्की पर्वको महत्त्वका विषयमा बताउँदै यसको पुस्तान्तरण र संरक्षणका लागि प्रतिष्ठानसँग मिलेर कार्यशाला गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा शत्रुघन चौधरीले ‘अष्टिम्की चित्रकला र थारु आदिवासी ज्ञान’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै थारु लोककला अष्टिम्कीको महत्त्व, प्रकृति र मानवजीवनसँग त्यसको सम्बन्ध र थारु आदिवासी ज्ञानका विषयमा आफ्ना विचार राख्नुभएको थियो । कार्यशालामा कलाकार विष्णुप्रसाद चौधरीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूका साथै विभिन्न क्षेत्रका व्यक्त्विहरूको उपस्थिति रहेको थियो । कार्यशालामा ३७ जना कलाकारहरूको सहभागिता रहेको थियो ।