नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १६ औँ प्राज्ञसभा आइतबार (२०८१ असार २३ गते) सम्पन्न भएको छ । सभाको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र राष्ट्रिय योजना आयोगका सदस्य डा. अरनिकोकुमार पाँडेले संयुक्त रूपमा गर्नुभयो ।समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संस्थागत नीति, नियम र मानवीय संसोधनका पक्षमा समग्र सामूहिक जिम्मेवारीलाई जोाडेर लाने कुरालाई प्राज्ञसभाले काम गर्ने बताउनुभयो । उहाँले प्रतिष्ठान स्थापनाको १४ वर्षको अवधिको ऐतिहासिक सांस्कृतिक विरासतलाई जोड्दै नयाँ ढङ्गले प्रतिष्ठान अघि बढ्न आवश्यक भएको धारणा राख्नुभयो । हार्तम्छालीले पहिचान, पहल र पहुँच यी ३ कुरालाई व्यवस्थापन गर्दै लान सके अझ सजिलो हुने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा.अरनिकोकुमार पाँडेले ललितकलालाई समय सापेक्ष अघि बढाउन आवश्यक रहेको बताउँदै देशको भविष्यमा ललितकलाको ठुलो महत्त्व रहको बताउनुभयो । उहाँले विकास भनेको सडक, भवन मात्र नभई कला पनि भएको धारणा राख्नुभयो । उहाँले जनभावनाभित्रको सपना, आशा र भविष्य कस्तो हुने भन्ने कुराको निर्धारणमा कलाको महत्त्वपूर्ण भूमिका रहने जिकिर गर्नुभयो । ‘कलालाई स्थानीय तह, विद्यालयमा जोड्न सके अझ प्रभावकारी हुन्छ ।’, पाँडेले भन्नुभयो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानलाई कसरी अगाडि बढाउने, के–के कामलाई प्राथमिकतामा राखेर यसको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकिन्छ भनेर नीति र कार्यक्रमका लागि प्राज्ञसभाको आयोजना गरेको बताउनुभयो । पूर्व उपकुलपति गोपाल चित्रकारले प्रतिकूल समयका बावजुद पनि विशेष सरोकार राख्ने व्यक्तिहरूलाई बोलाएर सभा गरेकामा आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘नयाँ योजनासहित बस्न लागेको यो प्रज्ञसभाले प्रभावकारी कार्यक्रम तय गर्ने छ भन्ने आशा लिएको छु ।’ यसै गरी प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकलाका क्षेत्रमा गर्नुपर्ने धेरै काम रहेको र त्यसलाई रणनीतिक, योजनागत तथा नीति निर्माणका तहमा समन्वय गरी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय ललितकला सङ्ग्रहालय, कला हब, काठमाडौँ ट्रिएनाले, प्रदेश तथा स्थानीय सरकारसँगको सहकार्यमा गरिएका/गरिने कार्यक्रम, प्रादेशिक ललितकला प्रदर्शनी, राष्ट्रिय ललितकला प्रदर्शनीको चर्चा गर्दै प्रतिष्ठानले आगामी आ.व. २०८१/८२ मा गर्ने कार्यक्रमका विषयमा जानकारी गराउनुभयो । ‘ललितकलाअन्तर्गतका नेपालका रैथाने कला तथा सिपलाई खोज तथा उत्थान गरी प्रवर्धन गर्न सकेमा नेपालको अर्थतन्त्रमा समेत थप योगदान पुग्ने छ । अगामी दिनमा सरकारले यस विषयमा ध्यान दिन आवश्यक छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखाका उपसचिव शिवराज रेग्मी, प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभा सदस्यहरू, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, कार्यक्रमको बन्द सत्रमा नीति, कार्यक्रम तथा बजेटलगायतका विषयमा छलफल भएको थियो ।