नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य, सोलुखुम्बुको सल्लेरीस्थित थेक्छेन पेमा गुम्बाको आयोजना तथा रुबेन आर्ट म्युजियम अमेरिकाको साझेदारीमा बुद्ध जयन्तीको अवसर पारेर हालै (२०८२ जेठ ४ गते) ‘हिमाली कला सम्मेलन’ सम्पन्न भएको छ । सम्मेलनको सन्दर्भपारेर आयोजित कार्यशाला तथा प्रदर्शनीमा देशभरका थाङ्का, मिथिला र समसामयिक कला विधालाई प्रतिनिधित्व गर्ने १७ जना कलाकारहरूले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । तेन्जी शेर्पाका अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालिको प्रमुख अतिथि रहनुभएको थियो । सम्मेलनको समापन कार्यक्रममा प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा प्रमुख अतिथि रहनुभएको थियो । २०८२ वैशाख २९ गतेबाट सुरु भएको सम्मेलन जेठ ४ गते सम्पन्न भएको थियो ।
