नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन ८ गतेबाट सुरु भएको ‘सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ सोमवार सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रदेशका माननीय सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्का प्रमुख अतिथि तथा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, माननीय शिव सिंह ओली, माननीय यज्ञराज पाठक, प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डे विशिष्ट अतिथि रहनुभएको थियो । प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख एवं सुदूरपश्चिम प्रदेश समन्वय समिति संयोजक प्रदिप अधिकारीको संयोजनमा भएको प्रदर्शनीको समापन समारोहमा प्रदर्शनीमा सहभागी कलाकारहरूलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशी, प्राज्ञ ताराप्रसाद ओझालगायतसँगै स्थानीय बुद्धिजीवी, सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको थियो।