नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान सुदूरपश्चिम प्रदेश समन्वय समिति, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय फोटो पत्रकार समूह नेपालको सहआयोजनामा शुक्रवार (२०८१ पुस १२ गते) सुदूरपश्चिम प्रदेशको कैलालीस्थित हसनपुरमा ‘चित्रकला कार्यशाला तथा आर्ट फोटोग्राफी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काका प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमाको अध्यक्षता सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले गर्नुभएको थियो । सो अवसरमा मन्त्री खड्काले सरहानीय काम गरेकामा आयोजक र सहआयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सुदूरपश्चिममा धेरै क्षमता र प्रतिभा भएका व्यक्तिहरू लुकेर रहेको बताउँदै त्यसलाई उजागर गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदेशको कला शिक्षामा जोड दिँदै आगामी दिनमा ललितकलाको प्रवर्धनका लागि यस्ता अन्य कार्यक्रम लिएर आउने बताउनुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले फागुन ८ गतेदेखि १२ गतेसम्म धनगढीमा गर्न लागेको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ सहभागिता जनाउन प्रदेशका कलाकारलाई आह्वान गर्दै प्रदेशको ललितकलालाई अघि बढाउने काम नयाँ पुस्ताको भएको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश समन्वय समिति संयोजक एवम् प्राज्ञपरिषद् सदस्य प्रदिप अधिकारीले प्रदेशका कलाकारको ऊर्जा देखेर थप उत्साहित भएको बताउनुभयो । प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले प्रदेशमा यस विषयमा पहिलो पटक आयोजना गरिएको कार्यक्रम सफल भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले प्रदेशमा चित्रकला तथा आर्ट फोटोग्राफीमा धेरै व्यक्तिहरू आबद्ध रहे तापनि ठाउँ र अवसरबाट वञ्चित भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले ललितकलालाई रोजगारीसँग जोड्दै लानुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।
सो अवसरमा साहित्यकार जगन्नाथ जोशी, कलाकार जीतबहादुर आउजी, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका सुदूरपश्चिम इन्चार्ज राजेन्द्र थापालगायतका कलाकार, साहित्यकार, सङ्गीतकर्मी, पत्रकारलगायतको उपस्थिति रहेको थियो भने कलाकारहरूले साङ्गीतिक प्रस्तुतिसमेत दिनुभएको थियो । त्यस्तै कार्यशालामा प्रदेशका कलाकारहरूले विभिन्न कलाकृति सिर्जना गर्नुभएको थियो ।