नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मङ्गलवार (२०८१ पुस २ गते) बाट ‘समावेशी चित्रकला प्रदर्शनी २०८१ ’ सुरु भएको छ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका सन्दर्भमा आयोजित प्रदर्शनीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले उद्घाटन गर्नुभयो । उहाँले हाम्रा, ज्ञान, परम्परा, शैली, शिल्पलाई नवपुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउँदै यस्ता प्रदर्शनीले कलाको पुस्तान्तरणमा सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कला पर्यटनको विकासमा तथा स्वरोजगार, आत्मनिर्भर एवं कलामार्फत अर्थतन्त्रको योगदानमा पनि यस किसिमका प्रदर्शनीले विशेष महत्त्व राख्दछन् । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका सन्दर्भमा प्रतिष्ठानले आयोजना गरेको यस प्रदर्शनीले विशेष महत्त्व राखेको छ । यसले एकातिर फरक क्षमता भएका व्यक्तिहरूको कलासिर्जनाको उजागर तथा अवसरको प्रदान गरेको छ भने साङ्ग व्यक्तिबाट भएको कला सिर्जनाले सहकार्य, मित्रता, सामाजिक ऐक्यबद्धता, कर्तव्यको बोध पनि गराएको छ ।’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरणका लागि अभियानका रूपमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले समाजका सबै विधा तथा क्षेत्रलाई मानवीयताका रूपमा समेट्ने माध्यम नै कला भएको धारणा राख्नुभयो । सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले फरक क्षमता भएका कलाकारहरूलाई प्रोत्साहित गर्न यस कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले अपाङगता भएका व्यक्तिहरूका सम्बन्धमा बनेका कानुन कार्यान्वयनको पाटो र उनीहरूलाई राज्यको हरेक कुरामा जोड्नुपर्नेमा जोड दिनुभयो । समारोहमा छोग्याल रिम्पोछे (कर्मा पुन्चोक लामा)लाई कदर–पत्र प्रदान गरिएको थियो । उहाँले कलालाई आर्ट थेरापी र सिर्जना दुवै मान्न सकिने बताउनुभयो ।
प्रदर्शनीमा नारदमणि हार्तम्छाली, केके कर्माचार्य, किरण मानन्धर, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, रमेशनाथ खनाल, भुवन थापा, धनबहादुर याख्खा, केशवराज खनाल, एनबी गुरुङ, अक्कलबहादुर तामाङ, एन्जिला जोशी, अर्जुन तामाङ, बलबहादुर सार्की, भीम सुब्बा तामाङ, भोजबहादुर तामाङ, विभूषण ताम्राकार, बिनोद लामगाडे, विपना महर्जन, विशाल दाहाल, बुद्धिमान तामाङ, दावा साङ्मो शेर्पा, धनमाया बुढामगर, दिवेशमान प्रधान, दीपेन्द्रमान बनेपाली, गणेश चौधरी डगौरा, गौरवरत्न बज्राचार्य तुलाधर, हीरा तामाङ, जयबहादुर कार्की, कविनाश बज्राचार्य, किरण सिगु, किशोर नकर्मी, लक्ष्मी भासिमा, मनिष महर्जन, मिङ्मा टेम्बा शेर्पा, नन्द सुनार, नवाङ छिरी शेर्पा, निमा तामाङ, नीरबहादुर तामाङ, प्राश्ना थापा, रुद्रबहादुर पुन, सान्नानी श्रेष्ठ, सरिता डङ्गोल, सोनाम सिंह भ्लोन, सुजेन बज्राचार्य, सुन्दर श्रेष्ठ, तेजबहादुर घर्तिमगरका कलाकृति समाविष्ट छन् ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, अरुणा हिङमाङसँगै अग्रज कलाकारहरू तथा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरूको उपस्थिति रहेको थियो । प्रदर्शनी गतेसम्म ५ गतेसम्म चल्ने छ ।