नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्यमा धनकुटा, साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा सोमबार (२०८१ असार १७ गते)बाट ‘तीन दिने समसामयिक चित्रकला राष्ट्रिय सम्मेलन’ सुरु भएको छ । कार्यक्रमको कोसी प्रदेशका सामाजिक विकासमन्त्री माननीय पाँचकर्ण राईले उद्घाटन गर्नुभयो । उहाँले आफू राजनीतिकर्मी भएता पनि ललितकलाले आफूलाई आकर्षित गरेको बताउनुभयो । प्रदेशका रैथाने, परम्परागत तथा लोककलालाई मुख्यरुपमा पहिचान गरी काम गर्नुपर्ने कुरा औल्याउँदै ललितकलाको उन्नयनका लागि आगामी दिनमा आफूले सक्दो सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले कलाको सर्वाङ्गीण विकासका लागि काम गरिरहेको बताउनुभयो । उहाँले प्रतिष्ठानको आगामी कार्यक्रमका बारेमा समेत जानकारी गराउँदै कलाको विकासले सभ्य समाज निर्माण हुने विचार व्यक्त राख्नुभयो । साँगुरीगढी गा.पा. प्रमुख जितेन रुम्दाली राईले पालिकामा गरिएको उक्त कार्यक्रमको सराहना गर्दै उहाँले आगामी दिनमा प्रतिष्ठानसँगको सहकार्यमा ललितकलाका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवाले कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्दै नेपालमा समसामयिक चित्रकलाको विकासका बारेमा चर्चा गर्नुभयो । कोसी प्रदेशका सामाजिक विकास मन्त्रालयका उपसचिव दामोदर फुयालले यस कार्यक्रममार्फत प्रतिष्ठानसँग जोडिएको र ललितकलाको क्षेत्रमा जोडिएका काममा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । स्थानीय सङ्घसंस्थाका प्रमुखहरूले पर्यटकीय स्थानमा कार्यक्रम गरेकामा खुसी व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सङ्गी श्रेष्ठ, अजमत अली, कलाकारहरू सरोजा खड्गी, युवराज रिजाल, छितेन शेर्पा, महेन्द्र राई, अनुराधा थापा, सविन उपाध्याय, गणेश लामा, डिल्ली आले, जितेन राई, प्रनोद दत्त, मुकुन्द प्रयास, मुकेश श्रेष्ठ, राजन पन्त, किरण सिगु, कृष्ण लामा, उद्धव रिमाल, राकेशचन्द्र श्रेष्ठ, सुदर्शनविक्रम राणा, चन्द्रकुमार राई, गोपाल दरै, सुदिन श्रेष्ठ, नगेन सिंह, श्यामसुन्दर यादव, मनु चौधरी, एचबी रम्तेल, खेम घिमिरे, हिमालय गौतम, पाल्साङविक्रम लामा, यसोदाकुमारी सिंह, सुरेश प्रतीक, विभिन्न स्थानीय सङ्घसंस्थाका प्रमुखहरू, पार्टीका प्रतिनिधिहरू, बुद्धिजीवीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमका सिलसिलामा पहिलो दिन उद्घाटनपश्चात् कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यपत्रको प्रस्तोताका रूपमा प्राज्ञ संगी श्रेष्ठ तथा कोसी प्रदेशबाट कलाकार महेन्द्र राई हुनुहुन्थ्यो । प्राज्ञ संगी श्रेष्ठले ‘नेपाली कला विगतदेखि वर्तमानसम्म’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा नेपाली कला इतिहास, वर्तमान अवस्था, विषयात्मक विविधता, स्वदेशी तथा विदेशी बजारमा नेपाली कला आदिका बारेमा चर्चा गरिएको थियो ।
दोस्रो प्रस्तोताका रूपमा कोसी प्रदेशका कलाकार महेन्द्र राईले ‘कोसी प्रदेशमा ललितकलाको ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्था’ शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो । सो कार्यपत्रमा कर्णाली प्रदेशका विगतदेखि हालसम्म स्थापित कला सङ्घसंस्था, आर्ट एकेडेमी, ग्यालरीहरूका गतिविधि, प्रदेश तथा पालिका स्तरमा प्रज्ञा–प्रतिष्ठानहरूको गठन बारेमा चर्चा गर्नुभयो । यसै गरी २०६२ देखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा हालसम्म विभिन्न पदमा रही जिम्मेवारी निभाउनुभएका प्राज्ञहरूका विवरण पनि उहाँले प्रस्तुत गर्नुभयो ।
सम्मेलनमा कार्यपत्र प्रस्तुतिपश्चात् त्यसमाथि अन्तक्रिया पनि भएको थियो । अन्तक्र्रियामा कार्यपत्र प्रस्तोताहरूले सहभागीबाट उठेका माथिका विभिन्न जिज्ञासाहरूको जबाफ दिनुभयो । दोस्रो चरणमा सहभागी कलाकारहरूले स्लाइड प्रस्तुतिबाट आफ्ना सिर्जनाहरूका बारेमा बताउनुका साथै उपस्थित व्यक्तिहरूको जिज्ञासा मेटाउनुभयो ।
सम्मेलनको दोस्रो दिन कला कार्यशालाको कार्यक्रम रहेको छ । कार्यशालापछि कलाकारहरूले सिर्जना गरेका कलाकृतिका बारेमा छलफल गरिने छ । कार्यशालामा सिर्जित कलाकृतिहरूको आवश्यक प्रक्रियापश्चात् निकट भविष्यमा प्रर्दशनी पनि गरिने छ । सम्मलेनको समापन असार १९ गते हुने छ ।