नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवार सम्पन्न ‘प्राज्ञिक भेला २०८१’बाट पारित ७ बुुँदे ‘प्राज्ञिक घोषणा पत्र २०८१’लाई समेटेर मङ्गलवार (२०८१ मङ्सिर १८ गते) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई अनुरोध पत्र बुझाएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुुलपति निशा शर्माले मन्त्री पाण्डेलाई सो अनुरोध पत्र संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा मन्त्री पाण्डेले देशभरका प्रदेश सरकार तथा स्थानीय सरकारबाट गठन भएका संस्कृति, ललितकला, साहित्य, सङ्गीत, नाट्य, ज्ञान–विज्ञानसँग सम्बन्धित प्रतिष्ठान/परिषद्/समितिलगायतका प्रतिनिधिको प्रतिनिधित्व हुुने गरी प्राज्ञिक भेलाको आयोजना गरेकोमा तीनवटै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले पत्रमा व्यक्त गरिएका विषयहरूलाई मन्त्रालयले अध्ययन गरी त्यसको कार्यान्वयनमा आफ्ना तर्फबाट सक्दो गृहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । भेलामा उठेका विषयलगायतका विविध विषयलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले उक्त छलफलमा जानकारी गराउनुभएको थियो ।
वर्तमान नेपालको संविधान २०७२ लागु भएपछि संविधानप्रदत्त अधिकारहरू प्रयोग गर्दै प्रदेश र पालिका स्तरमा पनि प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूको गठन भएका सन्दर्भमा प्रतिष्ठान/प्राज्ञिक संस्थाहरू प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूको गठनविधि, नामकरण, कार्यप्रणाली, प्राज्ञहरूको सेवा सुविधालगायतका विषयमा अनेकता र अन्योलको अवस्था चिरी सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूका बिचको सम्बन्ध र समन्वय के कसरी गर्ने भन्नेबारेमा स्पष्ट नीति बनाई हाल गठन भएका र अब गठन हुने प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूलाई स्पष्ट मार्गदर्शनसहित काम गर्ने वातावरण निर्माण गर्नका लागि अनुरोधपत्र बुझाइएको हो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँगै सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, भरतपुर प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान, बर्दघाट प्रज्ञा–प्रतिष्ठान, खजुरा प्रज्ञा–प्रतिष्ठान, भीरकोट प्रज्ञा–प्रतिष्ठान, कपुरकोट कला, साहित्य संस्कृति परिषद्, कालीगण्डकी प्रज्ञा–प्रतिष्ठान, सुनवल नगर वाङ्मय कला प्रतिष्ठान, कोन्ज्योसोम वाङ्मय प्रतिष्ठान, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतको संस्कृति शाखाका उपसचिवलगायतका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।