नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र आइकम नेपालको आयोजनामा सोमवार (२०८१ माघ २१ गते ) ‘ललितकलाको सार्वजनिक महत्त्व र सङ्ग्रहालय’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्राज्ञ प्रदीप शाक्य र मीना लामाले ‘ललितकलाको सार्वजनिक महत्त्व र सङ्ग्रहालय’ विषयमा पावरप्वाइन्टमार्फत आफ्नो प्रस्तुति राख्नुभएको थियो । उहाँहरूको प्रस्तुतिमा सङ्ग्रहालय, वस्तुहरूको सङ्कलन, सङ्ग्रह, सङ्ग्रहालयमा कलाको महत्त्व, सङ्ग्रहालयका प्रकार, वर्तमानस्थिति, गर्नुपर्ने कार्यहरू, ऐन, कानुन, सहकार्य, आर्थिक/सामाजिक/ऐतिहासिक पक्ष, समन्वयलगायतका विविध पक्षहरूको चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले ऐतिहासिक, पुरातात्त्विक र समसामयिक कलाकृतिसमेत समेटेर बनाउन लागेको एसिया स्तरको सङ्ग्रहालयलाई व्यवस्थित रूपमा अघि बढाउन विज्ञहरूको सल्लाह, सुझाव लिन यस कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो । सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कला, संस्कृतिसँग जोडिएको सम्पदासँगै मौखिक इतिहाससँग सम्बन्धित सङ्ग्रहालय पनि बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले सङ्ग्रहालयका सम्बन्धमा ललितकलाका विविध विषय तथा क्षेत्रको खोज, अध्ययन, अनुसन्धान हुन जरुरी रहेको बताउनुभयो । आइकम नेपालका अध्यक्ष रमेशप्रसाद दुवाडीले यस कार्यक्रम सुरुवाती बहस भएको बताउँदै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
समारोहमा प्रतिष्ठानका पदाधिकारी, प्राज्ञसभा सदस्य, कलाकार, पत्रकारसँगै विभिन्न सङ्घ–संस्था तथा क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरूको सहभागिता रहेको थियो ।
