नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषको आयोजना र जनकपुर उपमहानगरपालिकाको सहकार्यमा मङ्गलवार(२०८१ फागुन २० गते)बाट धनुषाको जनकपुरधामस्थित मैथिली विकास कोषमा ‘मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ । कार्यक्रमको उद्घाटन प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको विशेष आतिथ्य रहेको थियो । प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख एवं मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङको संयोजनमा भएको कार्यक्रममा समारोहमा प्रदेशका पूर्वमन्त्री राम सरोज यादव, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, मैथिली विकास कोषका सदस्य कुमार भास्करसँगै प्रदेशका कलाकार, राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, पत्रकारलगायतको सहभागिता रहेको थियो । फागुन २४ गतेसम्म चल्ने प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।