नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लोककला तथा मूर्तिकला विभागको आयोजना र जासु कला केन्द्र बाँसगढी बर्दियाको सहयोगमा ‘तीन दिने लोक चित्र एवम् मूर्तिकला प्रशिक्षण तथा गोष्ठी’ आइतबारबाट बर्दियाको बाँसगढीमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बाँसगढी नगरपालिकाका प्रमुख खडकबहादुर खड्काले बाँसगढी नगरपालिका स्थानीय कला संस्कृति तथा भाषा साहित्यको खोज, संरक्षण तथा प्रवद्र्धनप्रति गम्भीर रहेको र नगरपालिकाले थारु लोककला, मूर्तिकला तथा हस्तकलाको विकासका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले बाँसगढीमा गरेको प्रशिक्षण तथा गोष्ठीले रैथाने कलाको संरक्षण तथा संवद्र्धनमा योगदान पुग्ने बताउँदै नेपालमा प्रचलित लोककलाको प्रवद्र्धनका निम्ति प्रतिष्ठानले योजनाबद्ध ढंगले काम गर्ने धारणा राख्नुभयो ।
बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरीले थारु समुदायमा रहेको कला, संस्कृति र सभ्यताको संरक्षणका निम्ति प्रतिष्ठानले गरेको कार्य निकै सराहनीय रहेको बताउनुभयो । उहाँले नगरपालिकाले कला र संस्कृतिको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकालले बाँसगढीमा गरिएको लोकचित्रकला तथा मूर्तिकला प्रशिक्षणले थारु समुदायमा प्रचलित कलाको विकास, संरक्षण तथा प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले बाँसगढी नगरपालिकालाई पहिलो प्राथमिकता दिई थारु लोककला र संस्कृतिको जगेर्ना सँगसँगै यसलाई आयआर्जनमा जोड्नका लागि प्रयास गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा ‘थारू समुदायमा लोकचित्रकलाको महिमा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै साहित्यकार तथा अध्येता शेखर दहितले थारु लोककला तथा मूर्तिकलाको संरक्षणमा सरोकारी संघसंस्थाले ध्यान दिनुपर्नेमा कुरामा जोड दिनुभयो । उक्त कार्यपत्रमाथि एकराज चौधरीले टिप्पणी गर्नुभएको थियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले प्रशिक्षणले थारु लोककलाप्रति लगाव हुने कलाकारलाई सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले कला, संस्कृति र सभ्यतामा थारु समुदाय समृद्ध रहे पनि विविध कारण मौलिक कुरा हराउँदै जान थालेपछि प्रशिक्षण तथा सशक्तिकरणका कार्यक्रम गर्नुपरेको जिकिर गर्नुभयो । कार्यक्रममा सहभागी २५ जना प्रशिक्षार्थीलाई प्राज्ञ दिनेश्वर महतो, कलाकार मिठ्ठु थारु, डिबी भण्डारी लगायतका कलाकारले प्रशिक्षण दिनुहुनेछ ।
उक्त कार्यक्रममा प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले लोककलाको संरक्षण, विकास र मौलिकता जोगाउने कार्यमा प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो । सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशिराम कार्की, बाँसगढी बहुमुखी क्याम्पसका प्रमुख इश्वरी रिजाल, खजुरा प्रज्ञा–प्रतिष्ठानका सदस्य मणि अर्याल, बाँसगढी नगरपालिका वडा नं ४ र ५ का वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो । पुष्पा चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले गर्नुभएको थियो ।