नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आइतबार (२०८१ माघ ६ गते) त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ललितकला क्याम्पसका नवनियुक्त प्रमुख तथा नेपाल हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभाबाट निर्वाचित नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हस्तकलासँग जोडिने ललितकलाका विविध विषय तथा क्षेत्रमा के–के गर्न सकिन्छ भनेर सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । उहाँले ललितकला क्षेत्रको साझा लक्ष्य प्राप्तिका लागि तीनवटै निकायको सहकार्यमा जोड दिनुभयो । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकलालाई राज्य, जनता र उत्पादन गरी त्रिआयामिक रूपमा जोडिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘युगले दिएको दायित्व पूरा गर्ने जिम्मेदारी हामी सबैको छ । त्यसकारण प्रतिष्ठान, ललितकला क्याम्पस र हस्तकला महासङ्घले सहकार्य गर्न आवश्यक छ ।’ हस्तकला महासङ्घका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यले प्रतिष्ठान र महासङ्घको मूल उद्देश्य एकै प्रकारको भएकाले सहकार्य महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले महासङ्घको नयाँ नेतृत्वको काम र प्राथमिकताका क्षेत्रको चर्चा गर्दै कलाकर्मीको सम्मान तथा हितका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । ललितकला क्याम्पस, भोटाहिटीका नवनियुक्त प्रमुख उपप्राध्यापक डा.यामप्रसाद शर्माले कलाको ज्ञानलाई सिप, उद्यमशीलता र सभ्यतासँग जोड्न आफ्नो प्रयास रहने बताउनुभयो । उहाँले विद्यार्थीले सिकेको सिपलाई रोजगारसँग जोडिनुपर्ने बताउँदै प्रतिष्ठान र हस्तकला महासङ्घको सुझावले मार्गनिर्देश गर्ने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूसँगै, नेपाल हस्तकला महासङ्घ, ललितकला क्याम्पस, भोटाहिटीका प्रतिनधिहरूको सहभागिता रहेको थियो ।