नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा सोमवार (२०८१ मङ्सिर १७ गते ) ‘प्राज्ञिक भेला २०८१’ सम्पन्न भएको छ । कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो । उहाँले प्राज्ञले राष्ट्रलाई सही बाटामा लान सहयोग पु¥याउनुपर्ने बताउनुभयो । प्राज्ञहरूले देशको थिङ्कट्याङ्का रूपमा काम गर्नुपर्ने बताउँदै उहाँले केन्द्र, प्रदेश र पालिकास्तरमा गठन भएका प्रज्ञा–प्रतिष्ठानबिच एकरूपता र तिनले गर्ने कार्यबिच सीमाङ्कन हुनुपर्ने धारणा राख्नुभयो । साथै मन्त्री पाण्डेले भेलाले निकालेको निचोडलार्ई कार्यान्वयन गर्ने बताउनुभयो । देश र समाजको हितका लागि प्राज्ञिक जगत्ले चेतनाको निर्माण, नैतिक मूल्य–मान्यताको विकास र सुशासनको प्रत्याभूतिका लागि मार्गनिर्देश गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भेलाले सामाजिक रूपान्तरणमा हाम्रो कला, संस्कृतिलाई कसरी जोड्ने भन्ने विषयलाई उठाएको बताउनुभयो । उहाँले भेलामा कला, साहित्य, संस्कृति, गीत–सङ्गीतलगायतका समाजसँग जोडिने विषय लोक, भोक र सोखमा आधारित रहेर विशेष छलफल भएको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्राज्ञिक बहसले मुलुकको सफ्ट पावर निर्माण गर्ने बताउनुभयो । उहाँले भेलाले प्रज्ञा–प्रतिष्ठान र विचार, प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा प्रज्ञा–प्रतिष्ठान र ज्ञानमा आधारित भएर छलफल भएको बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले केन्द्र, प्रदेश र पालिकास्तरमा गठन भएका प्रज्ञा–प्रतिष्ठानहरूबिच निरन्तरको समन्वय र सहकार्यले परिणाम दिने बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले एकीकृत योजना बनाएर प्रभावकारी ढङ्गले योजना कार्यान्वयन गर्नका लागि भेला हुनुभएका सम्पूर्णलाई स्वागत गर्नुभयो ।
सो सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले आफूले नेतृत्व लिएका प्रतिष्ठानका विविध विषय, आगामी योजना, कार्यक्रम, प्रदेश तथा पालिकास्तरमा गठन गरिएका प्रज्ञा–प्रतिष्ठानबिच एकरूपतालगायतका विविध विषयमा चर्चा गर्नुभएको थियो ।
भाषा आयोगका माननीय सदस्य डा.पुस्करराज भट्टले नेपालका विभिन्न लोपोन्मुख भाषा, संस्कृतिको संरक्षणमा आयोगले काम गर्दै आएको बताउँदै उहाँले भेलाले निर्णय गरेको सम्बन्धित क्षेत्रमा आयोगले सहकार्य गर्ने बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतको संस्कृति शाखाका उपसचिव शिवराज रेग्मीले संस्कृति नीति, सङ्ग्रहालय ऐन, प्रतिलिपि ऐन, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण तथा व्यवस्थापन ऐन, प्राचिन स्मारक संरक्षण ऐनका बारेमा चर्चा गर्नुभयो । उहाँले मन्त्रालयले सम्बन्धित विषयमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सहसचिव कृष्णप्रसाद भट्टराई, गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले पनि धारणा राख्नुभएको थियो ।
समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँगै गण्डकी प्रज्ञा–प्रतिष्ठान, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, आँबुखैरनी वाङ्मय परिषद्, भरतपुर प्रज्ञा–प्रतिष्ठान, सुनापति प्रज्ञा–प्रतिष्ठान, रत्ननगर वाङ्मय परिषद्, नीलकण्ठ प्रज्ञा–प्रतिष्ठान, माडी नगरपालिका, गल्याङ प्रज्ञा–प्रतिष्ठान, वालिङ प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान, बर्दघाट प्रज्ञा–प्रतिष्ठान, खजुरा प्रज्ञा–प्रतिष्ठान, भीरकोट प्रज्ञा–प्रतिष्ठान, महाङ्काल प्रज्ञा–प्रतिष्ठान, बिर्तामोड भाषा साहित्य कला प्रतिष्ठान, लालबन्दी नगर वाङ्मय परिषद्, कोहलपुर वाङ्मय प्रतिष्ठान, बेलवारी प्रज्ञा–प्रतिष्ठान, कपुरकोट कला, साहित्य संस्कृति परिषद्, कालीगण्डकी प्रज्ञा–प्रतिष्ठान, सुनवल नगर वाङ्मय कला प्रतिष्ठान, ठाकुरबाबा प्रज्ञा–प्रतिष्ठान, व्यास नगर प्रज्ञा–प्रतिष्ठान, कोन्ज्योसोम वाङ्मय प्रतिष्ठान, ललितपुर, मैथिली विकास कोषका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उहाँहरूले प्रज्ञा–प्रतिष्ठानहरूबिचको एकरूपता र सहकार्यमा जोड दिनुभएको थियो । भेलाले ७ बुँदे घोषणा पत्र जारी गरेको छ ।
घोषणा पत्र
प्राज्ञिक घोषणा पत्र २०८१
मिति २०८१ मङ्सिर १७ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री माननीय श्री बद्रीप्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा आयोजित प्राज्ञिक भेला–२०८१ मा उपस्थित भएका देशभरका सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूका प्रमुख/प्रतिनिधिहरूबाट निम्नानुसार घोषणा–पत्र जारी गरेका छौँ ।
१. हाल गठन भएका र भविष्यमा गठन हुने प्रदेश र पालिका स्तरका प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूको उद्देश्य, नामकरण, गठन, कार्यविधि आदिका बिचमा एकरूपता कायम गर्ने र यसको समन्वय एवं नीति निर्माणका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने ।
२. सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूका बिचको सम्बन्ध र समन्वयको नीति निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सरकारसमक्ष अनुरोध गर्ने ।
३. सङ्घीय स्तरमा वाङ्मय, ललितकला, नाट्य, सङ्गीत क्षेत्रका लागि तीनओटा प्रज्ञा–प्रतिष्ठान र विज्ञान प्रविधि क्षेत्रमा अलग्गै प्रज्ञा–प्रतिष्ठान रहेका तर प्रदेश र पालिका स्तरमा यी चारओटै विषय क्षेत्र समेटेर एउटै प्राज्ञिक संस्था निर्माण गर्नुपर्नेमा हाल गठन भएका प्रदेश र पालिका स्तरका प्रतिष्ठानहरूमा यी चारओटै विषय क्षेत्र समेटिएको पाइँदैन । यसर्थ विज्ञान प्रविधि क्षेत्रसमेत संस्कृतिका सबै क्षेत्र समेटेर प्राज्ञिक संस्थाको क्षेत्र विस्तार गर्ने ।
४. संस्कृतिकर्मी, स्रष्टा, कलाकारका साथै प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई सरकारी अस्पतालबाट स्वास्थ्योपचार सुविधा उपलब्ध गराउनका लागि पहल गर्ने ।
५. सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठानहरूका कार्यक्रम, अनुसन्धान तथा प्रकाशनहरूको जानकारीको आदानप्रदान गर्ने, तिनको अभिलेखन गर्ने र उही कामको पुनरावृत्ति नगर्ने ।
६. वाङ्मय, ललितकला, नाट्य, सङ्गीत क्षेत्रको अध्ययनलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने र प्रतिष्ठान गठन गर्न बाँकी रहेका प्रदेश तथा पालिकाहरूमा प्रतिष्ठान/प्राज्ञिक संरचना निर्माणका लागि आवश्यक पहल गर्ने ।
७. यसअघि २०८० साउन १३ गते पोखरामा भएको प्रज्ञा पोखरा घोषणा–पत्र २०८०, मिति २०८० पौष १३ गते भएको प्राज्ञिक भेला–२०८० को काठमाडौँ घोषणापत्र २०८०, मिति २०८१ साउन १२ गतेको प्राज्ञिक सम्मिलनका घोषणाको कार्यान्यवनका लागि आवश्यक पहल गर्ने ।