नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा जेठ १५ गतेबाट सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को बुधवार (२०८२ जेठ २१ गते) प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरेले अवलोकन गर्नुभएको छ । यस सिलसिलामा उहाँले कर्णाली प्रदेशका लोपोन्मुख राउटे समुदायका कलाकारसँग पनि साक्षात्कार गर्नुभयो । प्रदर्शनी अवलोकनपश्चात् प्रतिक्रिया दिँदै घिमिरेले भन्नुभयो,‘मलाई यस प्रदर्शनी धेरै समय लिएर हेर्नुपर्छ भन्ने लाग्यो । सातैवटा प्रदेशबाट प्रतिस्पर्धामा ल्याएर त्यहाँको कलाको विकास गरेर त्यहाँबाट छानिएकाहरू यहाँ आउने कुरा आफैँमा एउटा महत्त्वपूर्ण कुरा हो ।’
घिमिरेले थप्नुभयो, ‘ललितकला भन्नाले हाम्रो इतिहास कसरी आएको छ, हाम्रो वर्तमान के छ ? र भविष्यले के गर्नुपर्छ भन्ने कुरा प्रदर्शनीका कलाकृतिले बडा महत्त्वपूर्ण ढङ्गबाट, कलात्मक ढङ्गबाट देखाएको छ । नेपाललाई चिन्नुपर्दा, नेपाललाई विश्वमा चिनाउनुपर्दा ललितकला क्षेत्रबाट चिनाउनुपर्छ भन्ने कुराको सुरुवात यस प्रदर्शनी हो जस्तो मलाई लाग्छ । यो सुरुवातलाई ऐतिहासिक बनाएर लान सकिन्छ र लानुपर्छ भन्ने लाग्छ । यस प्रदर्शनीको आयोजनाका लागि खास गरीकन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र वर्तमान यस कार्यसमितिका सम्पूर्ण महानुभावहरूलाई म धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’
प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला÷मूर्तिकला, वास्तुकला, समसामयिक/आधुनिक चित्रकला/मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को आयोजना गरेको हो ।
जेठ ३० गतेसम्म चल्ने प्रदर्शनीमा ललितकलाका विविध विधाका साथै मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता रहेको छ ।

