नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जानकी गाउँपालिकाको संयुक्त आयोजनामा शनिवार (२०८१ भदौ ८ गते)बाट कैलालीको दुर्गौलीमा ‘थारू लोकचित्रकला तथा मूर्तिकला प्रवर्धन कार्यक्रम’ सुरु भएको छ । कार्यक्रमको उद्घाटन जानकी गाउँपालिकाका प्रमुख गणेश चौधरीले गर्नुभयो । उहाँले थारू समुदायको विशेष संस्कृतिको संरक्षणको निमित्त यस कार्यक्रमले सहयोग गर्ने बताउँदै यसलाई निरन्तरता दिँदै जाने जानकारी गराउनुभयो । ‘थारू समुदायको लोककलालाई अर्थोपार्जनसँग जोड्न सके मौलिक परम्परा बचाउन र यसलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार–प्रसार गर्न सकिन्छ ।’, चौधरीले भन्नुभयो । प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले ललितकलाको विषयलाई प्राथमिकतामा राखेर यस कार्यक्रमको आयोजना गरेकामा गाउँपालिकालाई धन्यवाद दिनुभयो । उहाँले संस्कृतिको संरक्षणमा युवापुस्ताले चासो दिनुपर्ने बताउनुभयो । पालिकाका वडा नं ८ का अध्यक्ष तीर्थराज उपाध्यायले मौलिक संस्कृति बचाउन चुनौती रहेको बताउँदै अस्टिम्की कलाको महत्त्वका बारेमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका वडा नं १–९सम्मका वडाध्यक्षहरू क्रमशः सुरेशकुमार चौधरी, चक्रबहादुर विष्ट, सुरेश चौधरी, दीपेन्द्रकुमार कठरिया, भीमबहादुर चौधरी, इन्द्र चौधरी, कमल महतो, तीर्थराज उपाध्याय, खगेन्द्र भण्डारीसँगै कार्यपालिका सदस्यहरू लक्ष्मी चौधरी, इन्द्रा सोप विक, राधा भुल, पवित्र विक, नरबहादुर कुमाल तथा स्थानीय कलाकार, बुद्धिजीवी, सङ्घ–संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । ११ गतेसम्म चल्ने यस कार्यक्रमको प्रशिक्षकका रूपमा विष्णुप्रसाद चौधरी रहनुभएको छ ।