नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कैलालीको जानकी गाउँपालिकाको आयोजनामा फागुन ४ गतेबाट सुरु भएको ‘थारू लोकचित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यक्रम २०८१’ आइतबार (२०८१ फागुन ११ गते ) सम्पन्न भएको छ । जानकी गाउँपालिका प्रमुख गणेश चौधरीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न स्थानीय कलाकार, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा चौधरीले प्रशिक्षण कार्यक्रमले नयाँ पुस्ताका कलाकारहरूलाई थप प्रोत्साहित बनाएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने बताउँदै पालिकालाई लोककलाको हब बनाउने गरी काम अघि बढेको धारणा राख्नुभयो ।
प्रमुख अतिथि प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले रैथाने कला, सिप तथा ज्ञानलाई संरक्षण गर्दै पुस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख तथा सुदूरपश्चिम प्रदेश समन्वय समिति संयोजक प्रदीप अधिकारीले थारू कलाको मौलिकता र पुस्तान्तरणको विषयलाई पुनर्जागृत गरेको बताउनुभयो । उहाँले उक्त स्थानलाई लोककला हब बनाउने गाउँपालिकाको योजनालाई समेत थप प्रोत्साहन मिलेको बताउनुभयो । प्रशिक्षणमा जानकी गाउँपालिकाका वडा १–९ सम्मका १८ भन्दा बढी कलाकारहरूले सहभागिता जनाउनुभएको थियो । कार्यक्रमको प्रशिक्षकका रूपमा विष्णुप्रसाद चौधरी र मित्थु थारू रहनुभएको थियो ।