नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार (२०८१ मङ्सिर १६ गते ) फोटोग्राफर सुदर्शन कार्कीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशेषतः ट्रक आर्ट तथा साहित्यलाई जोडेर निर्माण गरिएको ट्याटु ट्रक अफ नेपाल वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो । समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ट्रकमा गरिने आर्टलाई पनि ग्राफिक आर्ट र क्यालीग्राफी आर्टअन्तर्गत राखेर हेरिनुपर्ने बताउनुभयो । हार्तम्छालीले ट्रक कला र साहित्यलाई एउटै दृष्टिकोणबाट हेरेर मूल्याङ्कन गर्न नहुनेमा जोड दिनुभयो । वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले प्रतिष्ठानले यस कला क्षेत्रलाई समेटेर पहिलो पटक कार्यक्रम गरेको बताउनुभयो । उहाँले यस कलाको पनि पृथक् स्थान रहेको धारणा राख्नुभयो । फोटोग्राफर सुदर्शन कार्कीले यस कलालाई निरन्तरता दिने कलाकारहरू अहिले निकै कम भएको बताउँदै कलाको यस क्षेत्रलाई समेटेर कार्यक्रम गरेकामा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा वक्ताहरूले मुख्यतः ट्रक आर्टले समेटेको धार्मिक, आध्यात्मिक, देशभक्ति, सांस्कृतिक, माया प्रेम, बिछोडलगायतका विषय समेटिएका ट्रक कला तथा साहित्यलाई सङ्कुचित नबनाई परिस्कृत एवम समाजोपयोगी बनाउनुपर्नेमा जोड दिनुभएको थियो । समारोहमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरु पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य बासुदेव श्रेष्ठ, चन्द्रकुमार राई, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, प्राज्ञ एससी सुमन, धनु याख्खालगायतसँगै यस कलासँग जोडिएका कलाकारहरूको समेत सहभागिता रहेको थियो ।
![](https://nafanepal.org/wp-content/uploads/2024/12/469066360_3438653433107020_5631166571901139998_n.jpg)