नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र हिमालयन ट्याटु समिटको संयुक्त आयोजनामा बुधवार (२०८१ भदौ २६ गते) ट्याटु सेमिनार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालमा ट्याटुकला परम्परागत संस्कारका रूपमा विभिन्न समुदायमा रहेको बताउनुभयो । उहाँले संस्कृतिका रूपमा रहेका यी कलालाई विश्वमाझ चिनाउन र विश्वमा चलेका ट्याटुकलाका नयाँ शैली र आयामका बारेमा नेपालका कलाकारहरूमाझ विमर्श गर्न यस्ता कार्यक्रम सहयोगी हुने बताउनुभयो । प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले ट्याटुकलाको यस कार्यक्रम पृथक् रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमलाई प्रतिष्ठानले निरन्तरता दिने बताउँदै कार्यक्रमसँग जोडिनुहुने सबैप्रति आभार व्यक्त गर्नुभयो । हिमालयन ट्याटु समिटका निर्देशक ब्रिजेश श्रेष्ठले कार्यक्रमका लागि सहकार्य गरेकामा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो । सेमिनारमा लन्डनलाई कर्मथलो बनाउनुभएका ट्याटु कलाकार ADRIAN SUEZ ले ट्याटुकलाका नयाँ आयाम, ट्याटु बनाउँदा रङ, रसायन तथा प्रविधिको प्रयोग, ध्यान दिनुपर्ने कुराहरूलगायतका विविध विषयमा प्रशिक्षण दिनुभएको थियो ।
सेमिनारमा ट्याटु कलाकारहरू हरस, रुपेश डुमारु, हुसेन महर्जन, मनिस रावत, रोहन श्रेष्ठ, सुजित राई, मनक सुवेदी, सृष्टिका योञ्जन, गुञ्जन बजगाईं, आङ्दावा शेर्पा, प्रसन्नमान प्रधान, विनिल बज्राचार्य, रुजेन शाक्य, निकेश श्रेष्ठ, सरोज महर्जन, सुसन खत्री, निकेस महर्जन, उषा तितिशु, टासी सलाका शेर्पा, सुस्मिता गुरुङसँगै राजन महर्जन, डिवी भण्डारी, सुष्मा श्रेष्ठ, मनोरमा खत्री, प्रितम क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।