नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र ब्रिटिस काउन्सिलको सहकार्य तथा युनेस्कोको आयोजनामा मङ्गलवार (२०८२ वैशाख ३० गते) ‘क्राफ्ट्स एन्ड फोल्क आर्ट्स’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि Jaco Du Toit ले लोककला तथा क्राफ्ट विधालाई समेटेर गरिएको बहसले प्रारम्भिक आधारभूत तथ्याङ्क दिने छ भन्ने कुरामा विश्वस्त रहेको बताउनुभयो ।
यसै क्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानको कार्ययोजना, रणनीति तथा भावीयोजनालगायतका विषयमा चर्चा गर्दै लोककला तथा शिल्पज्ञानलाई समयसापेक्षित रूपमा अद्यावधिक गराँउदै यसको संरक्षण, संवर्धन तथा पुस्तान्तरण गर्दै हरित अर्थतन्त्रमा जोड्ने कुरामा सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले लोककला, शिल्पकलाको ज्ञान तथा सिपको विकास र पुस्तान्तरणमा जोड दिँदै प्राज्ञिक तथा बौद्धिक बहसलाई जोड दिनुभयो । ‘सभ्यता र संस्कृतिको आधार पहिचान भएकाले समुन्नत विश्व समाज बनाउने लक्ष्य र यो लक्ष्यलाई पूरा गर्न यो कार्यक्रम महत्त्वपूर्ण प्रस्थानबिन्दु बन्न सक्छ ।’ उहाँले भन्नुभयो ।
समारोहमा UNESCO का National Programme Officer, Head of Culture Unit, Nabha Basnyat Thapa, British Council का Head of Arts, Nhooja Tuladhar लगायतले कार्यक्रमका विविध पाटोका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा ४० भन्दा बढी लोक, शिल्पकलाको क्षेत्रमा सक्रिय कलाकार तथा सङ्घसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहको थियो ।
