नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य र टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४, चखेवामा सोमवार (२०८२ जेठ ५ गते)बाट ‘क्यानभासमा टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशाला’ सुरु भएको छ । कार्यशालामा कलाकारहरूले चखेवाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता झल्काउने विषयलाई चित्रमार्फत प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्थानीय स्तरमा आयोजना गरिने यस्ता कार्यक्रमहरूले पर्यटन प्रवर्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कला र संस्कृति नै स्थानीय पहिचानको मूल आधार भएको बताउँदै आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने धारणा राख्नुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तावा राईले गाउँपालिकामा यस्ता कार्यक्रम गर्दा खुसी लागेको बताउनुभयो । उहाँले कार्यशालामा बनेका कलाकृतिहरूकको प्रदर्शनी प्रतिष्ठानमा गरिने जानकारी गराउनुभयो । कार्यक्रममा प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, पालिकाका वडा अध्यक्षहरू पूर्णप्रसाद राई, हर्कराज राई, नभराज माङपाहाङ्ग, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अदित दाहाललगायतसँगै स्थानीय, विद्यालय, सङ्घ–संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
कार्यशालमा संजय वान्तवा राई, अरुणा हिङमाङ, सुषमा राजभण्डारी, सुनिता राणा, किशोर नकर्मी, कान्छाकाजी भासिमा, विवेक मुकारुङ, विनोद गुप्ता, विद्यमान तामाड, महेन्द्र राई, गणेश लामा, यसोदाकुमारी सिंह, शिवछान्छा राई, विष्णुकुमार थापा, धिरज राई, तारा राईलगायतका कलाकारहरूको सहभागिता रहेको छ । ७ गतेसम्म चल्ने कार्यक्रमको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।