नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा मङ्गलवार (२०८१ मङ्सिर ११ गते) कलाकार गोविन्द साह ‘आजाद’ सँग ललितकला संवाद सम्पन्न भएको छ । कार्यक्रममा कलाकार आजादले आफ्नो कलायात्रा र कलाकर्मसँग जोडिएका जीवनका विभिन्न पाटा तथा जीवनभोगाइका अनुभवहरूलाई प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानले ललितकला संवादको आयोजना गरी आफूलाई जोडेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो । कलाकार आजादले ललितकला क्याम्पसको अध्ययनदेखि बङ्गलादेश र बेलायतमा कला अध्ययन गर्दाको अनुभव सुनाउनुभयो । उहाँले नेपाली कलाको विकासक्रमदेखि विश्वमा चलेका कलाका शैलीका विषयमा चर्चा गर्नुभयो । उहाँले नेपाल तथा विदेशको लन्डनमा हुँदा बखत सिर्जना गरिएका कलाकृतिको चर्चा गर्दै कलायात्राका क्रममा आफूले भोगेका भोगाइसँगै सङ्घर्षका बारेमा जानकारी गराउनुभयो । कलाकार आजादले प्रस्तुतिका क्रममा विभिन्न समयमा तयार पारेका कलाकृतिका बारेमा चर्चा गर्नुभयो । विश्वकलामा नेपाली कलाकार र कलाले प्रभावकारी उपस्थिति जनाइरहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार आजादसँग गरिएको ललितकला संवादबाट उहाँका कलायात्रा तथा जीवनसङ्घर्षका बारेमा जान्न पाउँदा खुसी लागेको बताउनुभयो । साथै उहाँले साइकल यात्राबाट नेपाली कलाको जागरण र त्यसलाई विश्वव्यापी गर्न सहयोग गर्नुभएकोमा कलाकार आजादलाई धन्यवाद व्यक्त गर्नुभयो । कुलपति हार्तम्छालीले समयको गति र कलायात्राका क्रममा चुनौतीको चाङ पार गरेर सफलताको शिखरमा कलाकार आजाद पुग्न सफल भएको बताउनुभयो । युरोपलगायत विश्वका विभिन्न देशमा आफ्नो प्रभाव सशक्त रूपमा छोड्न कलाकार आजाद सफल भएको सुनाउँदै ‘ललितकला संवादमा’ जोड्न पाउँदा खुसी व्यक्त गर्दै बधाई दिनुभयो ।
कलाकार तथा कला समीक्षक प्राज्ञ रमेश खनालले नेपाली कलामा कलाकार आजादले सशक्त ढङ्गले आफूलाई चिनाउन सफल भएको बताउनुभयो । उहाँले नेपाली कलाको उपस्थितिलाई संसारभर चिनाउन आजादले विशेष भूमिका खेलेको बताउनुभयो । उहाँले कलाका विविध आयामका बारेमा आजादसँग परिचर्चा गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका समसमायिक चित्रकला विभाग प्रमुख संजय बान्तवाले कलाकार गोविन्द साह आजादसँग ललितकला संवाद गर्न पाउँदा खुसी लागेको बताउँदै विदेशी भूमिमा कलाकार आजादले नेपाली कला र कलाकृतिको प्रचार–प्रसारमा पु¥याउनुभएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कलाकार आजादको कलायात्रा, कलाजीवन र चिन्तनका बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा कलाकार गोविन्द साह ‘आजाद’ लाई प्राज्ञ सौरगंगा दर्शनधारी, कलाकार अमृत तामाङ, सौरभ आचार्य, पकबहादुर थापा, उषा तितीक्षालगायतले कलाकार साहको कलायात्रा, जीवनसङ्घर्ष, नेपाली कलालाई विदेशी भूमिमा चिनाउन गर्नुभएको काम, कलाको बिक्री र कलाकारको योगदानको सामाञ्जस्य, साकिलिङ र कलाको सम्बन्ध, परम्पारगत कलालाई अन्तर्राष्ट्रियकरण गर्न गर्नुपर्ने कामलगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरू प्रदिप अधिकारी, दिनेश्वर महतो, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्यहरू नरेन्द्र प्रसाद भण्डारी, चन्द्रकुमार राई, कृष्णप्रकाश शाहसँगै कलाकार तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।