नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घ, सुर्खेतको संयोजनमा मङ्गलबार (२०८१ फागुन ६ गते) बाट सुर्खेतमा कर्णाली ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ वीरेन्द्रनगरको जन नमूना माविको हलमा सुरु भएको छ । प्रदर्शनीको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ललितकला प्रदर्शनीका लागि कर्णाली प्रदेशको राजधानीमा भवन निर्माण गर्ने बताउँदै प्रदर्शनीस्थल नहुँदा विद्यालयको भवन प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्यका लागि आफू लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले जमिनको व्यवस्थापन गरिदिए प्रदेश सरकारले भवन निर्माण गर्छ । अर्को वर्ष विद्यालयको कोठा खोजेर प्रदर्शनी गर्न नपर्ने गरेर काम गछौं ।’ सो अवसरमा मुख्यमन्त्री कँडेलले कर्णाली प्रज्ञा प्रतिष्ठान गठनको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘संघीय सरकारले वा केन्द्रमा गठन भए अनुसार विषषगत संरचना र संस्था बनाउन हामी नसकौंला, गच्छेअनुसारको सरकार चलाएका छौं, सोही अनुसारको संरचना निर्माणको तयारीमा छौं ।’ कला र संस्कृतिका हिसावले सम्पन्न प्रदेश भएको सुनाउँदै मुख्यमन्त्री कँडेलले साधन–स्रोतको अभावले कला र संस्कृतिमा धनी भए पनि त्यसको उपयोग हुन नसकेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘बाटो हेर्यो विकट छ, तर कला हेर्यो भने कर्णाली धनी रहेछ भन्ने देखाउँछ । साधन स्रोतको अभावमा यसको विकास हुन मात्रै नसकेको हो ।’
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला र संस्कृतिको विकासले मात्रै मुलुक समृद्ध बन्ने विचार व्यक्त गर्दै कर्णाली प्रदेशमा भएको कला प्रदर्शनीले नेपालको विविधतालाई चिनाउन सफल भएको बताउनुभयो । नेपालको ललितकलाको बहुआयामिक पक्षलाई प्रादेशिक प्रदर्शनीले उठाउन खोजेको बताउँदै उहाँले समाज रुपान्तरणमा कलाको भूमिका विशिष्ट रहने विचार व्यक्त गर्नुभयो ।
सो प्रदर्शनीको अवसरमा लोपोन्मुख राउटे समुदायका पाँच जना युवाले काठबाट विभिन्न हस्तकलाका सामग्रीहरु बनाउनुभएको थियो । उक्त प्रदर्शनीमा कर्णालीका विभिन्न जिल्लाका कलाकारले बनाएका कलाकृति प्रदर्शनीमा राखिएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कर्णाली प्रदेश समन्वय समितिका संयोजक एवं परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले यही फागुन १० गतेसम्म चल्ने प्रदर्शनीमा ललितकला आठ वटा विधा समेटिएको बताउनुभयो । उहाँले प्रदर्शनीमा परम्परागत चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, वास्तुकला तथा लोककला, हस्तकला, बहुआयामिक तथा अन्य सृजनात्मक कला तथा नवप्रतिभालाई समेत जोडेर प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै विधामा एक–एक जना र एक जनालाई उत्कृष्ट पुरस्कारको पनि व्यवस्था गरेका छौं । नेपाली ललितकलालाई देशब्यापी बनाउने अभियानअन्तर्गत प्रत्येक प्रदेशमा हरेक वर्ष प्रदर्शनीको आयोजना गरिरहेका छौं ।’
सो कार्यक्रममा मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशका ३ जना कलाकारलाई सम्मानसमेत गर्नुभयो । सम्मानित हुने कलाकारमा कालिकोटका कलाकार हरकबहादुर शाही, कलाकार मनिजङ्ग शाही र सुर्खेतका कलाकार सुभाष कुमार शाक्य रहनुभएको छ । प्रदर्शनीमा प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य झिग्मे लामा र निरीमाया लामाको समेत उपस्थिति रहेको थियो । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।