ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्धनका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा कञ्चन गाउँपालिका–१ रुपन्देहीको आयोजनामा भएको चित्रकला कार्यशाला शनिवार (२०८२ जेठ ३१ गते) सम्पन्न भएको छ ।
दानापुर तालमा आयोजित कार्यशालाको उद्घाटन कार्यक्रममा शुक्रवार प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नवराज ढकालले कलाको प्रवर्धनका लागि यस्ता कार्यक्रम सहयोगी हुने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले कलाको विकास हुने र कलाकारलाई समेत हौसला प्रदान हुने धारणा राख्नुभयो । ‘यस कार्यक्रममा सहकार्यका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । कार्यशालामा सिर्जित कलाले यहाँका ऐतिहासिक विषयहरूको जानकारी दिने छन् ।’, ढकालले भन्नुभयो ।
कार्यशालामा मन गोल्डी, एचबि रम्तेल, दिलिप रसाली, सुमित्रा राना सुतपराई, बेनप्रसाद थापा, राजु वि.क., अजय नेपाली, नरबहादुर विके, जेनबहादुर सार्की, खेम घिमिरे, प्रदीप थारु, राम औतार, गङ्गाधर आचार्य, राजकुमार लिगल, प्रितम राना, घनश्याम थापा, चन्द्रबहादुर खड्का, विष्णुप्रसाद सुवेदी, डोलबहादुर आले, हरि बयम्बु, स्नेहा थारूलगायतका २० जना कलाकारबाट सिर्जित २५ वटा कलाकृति गाउँपालिकाको प्रशासनिक भवनमा राखिने जानकारी गराइएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकीय अधिकृत माधव पोखरेल, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो । कार्यशालाको समापन कार्यक्रममा कलाकारहरूलाई प्रमाणपत्रका साथ सम्मान पनि गरिएको थियो । कार्यक्रमको नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीले सहजीकरण गरेको थियो ।