नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सुदूरपश्चिम प्रदेश समन्वय समितिको सहकार्य तथा थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति, कञ्चनपुरको आयोजनामा मङ्गलवार (२०८२ जेठ ६ गते )‘थारु लोककला कार्यशाला’ बेलौरी–७, बर्का सिंहपुर, कञ्चनपुरमा सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति, कञ्चनपुरका सभापति सानु चौधरीका अध्यक्षतामा सम्पन्न कार्यशालामा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, समाजसेवी, थारू बुद्धिजीवी र महिला थारु लोकचित्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सभापति चौधरीले प्रतिष्ठानसँगको सहकार्यमा यस कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो । अनुसन्धानकर्ता शेखर दहितले थारू भितेचित्र लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले थारू भित्तेचित्र धार्मिक, परम्परागत मात्र नभएको र यस कलालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । बेलौरी–७ का वडा सदस्य कमानसिंह चौधरीले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।