नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान शिल्प–हस्तकला विभाग र मैथिली विकास कोषको सहकार्यमा मङ्गलवारबाट जनकपुरमा सुरु भएको ५ दिने ‘एप्लिक आर्ट कार्यशाला’ शनिवार (२०८१ पुस २७ गते ) सम्पन्न भएको छ । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको प्रमुख अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य रामाशीष यादव हुनुहुन्थ्यो । यादवले प्रदेशका यस खाले कला रैथाने भएको बताउँदै संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख एवं मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङले यस खाले कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउने बताउनुभयो । उहाँले यस कलालाई बजारीकरण गर्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा गरिएको कार्यक्रम उपलब्धिमूलक भएको बताउनुभयो । प्रशिक्षक रुवी पाठकले कार्यशालामार्फत प्रशिक्षार्थीले धरै ज्ञान सिकेको बताउनुभयो । प्रदेशका विभिन्न सङ्घ–संस्था तथा कलाकारहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागी कलाकारहरूलाई प्रमाण–पत्र वितरण गरिएको थियो । कार्यशाला २३ गतेबाट सुरु भएको थियो ।
