नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बिहीवार (२०८१ माघ १० गते ) अग्रज कलाकार सन्तकुमार शाक्यसँग ललितकला संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कुलपति नारदमणि हार्तम्छालीले कलाकार शाक्य बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । उहाँले शाक्यको कला क्षेत्रप्रतिको साधना प्रशंसनीय रहेको धारणा राख्दै ज्ञानलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सन्तकुमार शाक्य मूर्तिकार मात्र नभएर सामाजिक अभियन्ताका साथै नाट्य, सङ्गीत विधामा पनि समर्पित स्रष्टा भएको बताउनुभयो । उहाँले शाक्यका कला, सिप, ज्ञान थुप्रैका लागि प्रेरणाको स्रोत भएको धारणा राख्दै आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरता दिने बताउनुभयो ।
कलाकार सन्तकुमार शाक्यले आफ्नो बाल्यकाल, कला यात्रासँगै मूर्तिकलाको विविध पक्ष तथा आयामका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले मूर्तिकलाको ज्ञान, सिपलाई पुस्तान्तरण गर्न आवश्यक रहेको औँल्याउँदै आफ्ना परिवारका सदस्यले पनि यसलाई निरन्तरता दिएको बताउनुभयो ।
कार्यक्रममा लेखक नानी हिरा शाक्यले पावरप्वाइन्टमार्फत कलाकार शाक्यका बारेमा विस्तृतमा जानकारी गराउनुभएको थियो । समारोहमा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकार तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।