नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकोे आयोजनामा आइतबार (२०८१ मङ्सिर ९ गते) अग्रज कलाकार शशीविक्रम शाहसँग ललितकला संवाद सम्पन्न भएको छ । कार्यक्रममा कलाकार शाहले कार्यक्रममा आफ्नो कला यात्रासँगै यससँग जोडिएका विभिन्न रोचक किस्साहरूलाई प्रस्तुत गर्नुभएको थियो । उहाँले बेलायतको टेट म्युजियममा आफ्ना कलाकृति पहिलो पटक प्रदर्शनी रहेको प्रसङ्गको चर्चा गर्दै यो नेपाली कलाकारका लागि गौरवको क्षण भएको धारणा राख्नुभयो । ‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई यस कार्यक्रमको आयोजना गरेकोमा विशेष धन्यवाद दिन चाहन्छु ।’, शाहले भन्नुभयो । ८५ वर्षीय कलाकार शाहले उक्त अवसरमा आफ्नो भारत, जापानलगायतका देशमा पुग्दाका तथा अध्यापन गर्दाको प्रसङ्गको समेत विस्तारमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको पुस्तान्तरणका लागि यस्ता कार्यक्रमहरूले कलाकारहरूलाई प्रोत्साहन मिल्ने बताउनुभयो । उहाँले कलाकार शाहको सम्मानस्वरूप यस कार्यक्रम गरिएको बताउनुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राईले अग्रज कलाकार शाहलाई अगाडि राखेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले अग्रज कलाकारहरूको सम्मानमा ललितकला प्रतिष्ठानले काम गरिरहेको धारणा राख्नुभयो । त्यस्तै, कलाकार शशीविक्रम शाहका बारेमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव विपिन घिमिरे, सिद्धार्थ आर्ट ग्यालरीका अध्यक्ष सङ्गीता थापा, अग्रज कलाकार कृष्ण मानन्धर, वैकुण्ठ श्रेष्ठलगायतले आफ्ना धारणा, स्मृति साझा गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूसँगै कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो ।