नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्क्ल्पचर’ मोड्युलको तालिममा सहभागी विद्यार्थीद्वारा सिर्जना गरिएका कलाकृतिलाई समेटेर गरिएको शिक्षामा सिप ‘स्केचिङ एन्ड स्क्ल्पचर प्रदर्शनी २०२६’ बुधवार (२०८३ वैशाख १६ गते) बाट प्रतिष्ठानमा सुरु भएको छ । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिभाशाली नवप्रतिभाको सिर्जना प्रदर्शनीमा देख्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ विगतमा महानगरप्रमुख रहँदा हालका सम्माननीय प्रधानमन्त्री बालेन शाह र अहिलेका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले पनि यसको कन्सेप्टमार्फत सिजर्नशील अतिरिक्त क्रियाकलापलाई शिक्षासँग जोडेर विशेष प्राथमिकता दिई अघि बढाउनुभएको हो । यसको जस उहाँहरूलाई पनि जान्छ ।’ हार्तम्छालीले भन्नुभयो, ‘आगामी दिनमा देशको नेतृत्व गर्ने युवा प्रतिभा तथा भविष्यका कर्णधारहरूमा शिक्षा र सिपलाई जोडेर सिर्जनशील अभिव्यक्ति कला कसरी अघि बढाउनुपर्छ भन्ने कुराको कन्सेप्ट बनाउनु ठुलो कुरा हो ।’
कार्यक्रम संयोजक प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले शिक्षामा सिप ‘स्केचिङ एन्ड स्क्ल्पचर’ कार्यक्रम सुरुवाती वर्षदेखि झन झन राम्रो हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाठ्यक्रम सबै एउटै हो तर विद्यार्थीहरूको रचनात्मक क्षमता, कार्यकुशलता चाहिँ फरक छ । यस कार्यक्रममार्फत एउटा विद्यार्थीले पढ्दै गर्दा आफ्नो सोचाइ, भावना के हो भनेर थाहा पाउँछ ।’ साथै उहाँले विद्यालय तहबाटै दिइने ललितकला शिक्षाले विद्यार्थीहरूको सिर्जनशील, रचनात्मक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले प्रतिष्ठान र महानगरबिचको सहकार्यमा भएको यस कार्यक्रमले विद्यार्थीमा निहित सिर्जनशीलतालाई उजागर गर्न सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ भोलिका दिनमा सिकेका सिपलाई अझ बढोत्तरी गर्दै लैजानुहोला । यसलाई तपाईंहरूले भविष्यमा पेसाका रूपमा पनि अघि बढाउन सक्नुहुने छ । आगामी दिनमा यस कार्यक्रमलाई अझ परिष्कृत गर्दै लैजाने छौँ ।’
समारोहमा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, काठमाडौँ महानगरपालिका शिक्षा विभागका वरिष्ठ सहायक अधिकृत सुशील सुवेदी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहसंयोजक केशवराज खनाल र सम्झना राजभण्डारी रहनुभएको थियो ।
प्रदर्शनीमा राखिएका श्री शहिद शुक्र मा.वि, विजय स्मारक मा.वि, पद्मकन्या विद्याश्रम मा.वि, भानु मा.वि, महेन्द्र बौद्ध मा.वि, नील बाराही मा.वि, ज्ञानोदय मा.वि, तरुण मा.वि, गीतामाता मा.वि, जुुद्धोदय मा.वि, जनकल्याण मा.वि, विश्व निकेतन मा.वि, शितला मा.वि, शारदा मा.वि, सरस्वती निकेतन मा.वि, नेपाल आदर्श मा.वि, रत्नराज्य मा.विका कलाकृतिमध्येबाट उत्कृष्ट हुनुभएका क्रमशः सोनिया तामाङ, एलिसा मगर, आकृति कुमारी चौधरी, यामिमा तामाङ, पुष्पाञ्जलि कुमारी, यम मगर, सेलिना घर्तिमगर, प्रमिल खनाल, विनोद चलाउने, सुदीक्षा चौधरी थारु, कोमल विश्वकर्मा, सङ्गम कुमार, सुहसा तामाङ, अदिश बोहरा, ईशा श्रेष्ठ, अजितकुमार, पुष्पाञ्जली कुमारी ठकुरीलाई जनही ३ हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । विद्यालयमा प्रशिक्षकका रूपमा करुणा श्रेष्ठ, जया शर्मा, रिता मानन्धर, सरिना लमिछाने, धु्रवराज शर्मा, कमला खड्का, महेश तामाङ, उमा खड्का, मनरा प्रजापति, किशोर नकर्मी, न्हुज श्रेष्ठ, यशस चन्द्र अर्याल, रतिना वज्राचार्य, विनय हुमागाईं, भीम सुब्बा तामाङ, सुरज श्रेष्ठ, रितु थापा मगर तथा सहायक प्रशिक्षकका रूपमा रोजिन तामाङ, करिना जोशी, ममता गुप्ता, सिजल स्थापित, विशााल थामि, कर्मा टासी गुरुङ, दीपक आउजी, जयराम मर्हजन, रमिला महर्जन, अन्जना श्रेष्ठ, आस्मा राई, उसिना महर्जन, सिद्धि, सौरभ श्रेष्ठ, सुस्मिता मोक्तान, आस्मा राई, गङ्गा वस्ती रहनुभएको थियो । प्रदर्शनी वैशाख १८ गतेसम्म चल्ने छ ।
