नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सामाजिक विकास मन्त्रालय (कर्णाली प्रदेश) नेपाल कमर्सियल आर्टिस्ट सङ्घ (सुर्खेत) श्री जननमुना माध्यामिक विद्यालय (वीरेन्द्रनगर, सुर्खेत)को सहकार्यमा बुधवार (२०८२ माघ २१ गते ) बाट ‘कर्णाली प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु भएको छ । प्रदर्शनीको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गर्नुभयो । उहाँले कर्णाली प्रदेश कला, संस्कृति र सम्पदाको धनी भएकाले यसको संरक्षण तथा प्रवर्धनमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावलाई आत्मसाथ गर्दै नेपाली रैथाने ललितकलाको विकासका लागि प्रतिष्ठानले विगत दुई वर्षदेखि प्रदेशमा प्रदर्शनीलगायतका गतिविधि गर्दै आएको बताउनुभयो । साथै उहाँले प्रदेशको लापोन्मुख राउटे समुदायको रैथाने ज्ञान, सिपलाई प्रदर्शनीमा समेटिएको बताउँदै यसले प्रदर्शनीलाई अझ महत्त्वपूर्ण बनाएको बताउनुभयो । प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्साङ्मो लामाले प्रदेशमा विगतका वर्षमा गरिएको प्रदर्शनीले राम्रो र सकारात्मक सन्देश दिएको बताउँदै यस पटकको प्रदर्शनीले पनि राम्रो छाप छोड्ने अपेक्षा गरेको धारणा राख्नुभयो । उहाँले प्रदर्शनीमा कर्णाली प्रदेशका समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका १०० भन्दा बढी कलाकृति राखिएको जानकारी दिनुभयो । नेपाल कमर्सियल आर्टिस्ट सङ्घका सङ्घीय उपाध्यक्ष सुभाषकुमार शाक्यले प्रदर्शनीले प्रदेशको ललितकलाको विकासमा थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य निरीमाया लामासँगै कलाकार, पत्रकार, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । नेपाल पर्यटन बोर्ड कला प्रवर्धक रहेको प्रदर्शनी माघ २५ गतेसम्म चल्ने छ ।