नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘संविधान दिवस २०८१’ सन्दर्भ पारेर बुधवार(२०८१ असोज २ गते)बाट ‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । कुलपति नारदमणि हार्तम्छालीले पोस्टर कला सन्देश तथा विषयवुस्तुप्रधान हुने भएकाले यसको विश्लेषण त्यसैका आधारमा हुनपर्ने बताउनुभयो । उहाँले लोकतन्त्र र संविधानको भावनालाई शिक्षा, चेतना, कलामार्फत जनस्तरमा लान आवश्यक रहेको धारणा राख्नुभयो । ‘पोस्टर कलामा प्रयोग भएको रेखाङ्कन शैली र रङले छुट्टाछुट्टै अर्थ बोकेको हुन्छ ।’, उहाँले भन्नुभयो ।
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कलाकार युगका निर्माता भएकाले उनीहरूले गरेका सिर्जना सोहीअनुसारको हुनुपर्ने बताउनुभयो । उहाँले कलाले हाम्रो भूगोल, संस्कृति, समाज, राष्ट्र र विश्वको चेतना निर्माणमा ठुलो प्रभाव पार्ने धारणा राख्नुभयो । ‘यस प्रदर्शनीको मूल उद्देश्य कलाका माध्यमबाट संविधानको मर्म, भावना, महत्त्व जनतामा पु¥याउनु हो । यस्ता कार्यक्रमले नव युवाहरूमा संविधानका विषयमा सचेतना जगाउने कार्य गर्दछ ।’, उहाँले भन्नुभयो ।
वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले नयाँ पिँढीले संविधानको विषयमा विस्तृत रूपमा बुझुन् भन्ने उद्देश्य राखेर यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । ‘विद्यार्थीहरूमा राष्ट्र, राष्ट्रियता र देशप्रेमको भावलाई जगाउनु, लोकतन्त्र र संविधानका विषयमा जानकार गराउनु अहिलेको आवश्यकता पनि हो ।’, उहाँले भन्नुभयो । समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवाले लोकतन्त्र र संविधान एक सिक्काका पाटा हुँदाहुँदै पनि विद्यार्थीले कलामार्फत कसरी बुझेका छन् भनेर बुझ्न सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्रका सवालमा हामीले यस प्रतियोगिताको आयोजना गरेका हौँ । आगामी दिनमा विद्यार्थीहरूले अझ परिष्कृत सिर्जना गर्नुहुने छ भन्ने आशा छ ।’ कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, अरुणा हिङ्माङ, प्राज्ञसभा सदस्य प्रदीप शाक्य, प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा यमकुुमारी कुुलुुङ प्रथम, मुक्ति चालिसे द्वितीय, लेग्देन साङ्मो तामाङ तृतीय र सम्झना राईले सान्त्वना पुरस्कार प्राप्त गनुभयो । पुरस्कारको राशि क्रमशः रु १५ हजार, १२ हजार, १० हजार र ८ हजार र प्रमाण–पत्र रहेको छ । प्रतियोगितामा सौरभ लगुन, होमराज कुलुङ राई, कशिस महर्जन, श्रद्धा श्रेष्ठ, रुद्र राई, प्रतिभा खड्का, सुुदिशा थापा, प्रतिक्षा तिवारी, अञ्जली घिमिरे, निश्चल श्रेष्ठ, राष्ट्र कार्की, जेनिस महर्जन, राहुलराज शाक्य, प्रविन अधिकारी, नवीन लामालगायतले सहभागिता जनाएका थिए । प्रदर्शनी असोज १० गतेसम्म चल्ने छ ।
 
Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.