काठमाडौं विश्वविद्यालयको आयोजना र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा ‘Forgotten Facades’ Exhibition तथा ‘Dissemination Workshop’ सोमबार (२०८० मंसिर ११ गते ) सम्पन्न भयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र कलाविद् प्रा. डा. बालचन्द्र लुइँटेलले संयुक्तरूपमा दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका कुलपति हार्तम्छालीले कलाका क्षेत्रमा काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्न प्रतिष्ठान तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जति गतिशील भइन्छ त्यति विकास हुन्छ र समृद्धि प्राप्त गर्न सकिन्छ । उहाँले राष्ट्रिय कला, संस्कृति, भाषालाई अन्तर्राष्ट्रिय रूपमा प्रचार–प्रसार गर्नका लागि युवापुस्तालाई सक्रिय पार्नुपर्ने बताउनुभयो । साथै उहाँले शिक्षामा बहुगुरुको धारणा अवलम्बन गरी नवपुस्ताबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।
कलाविज्ञ प्रा. डा. बालचन्द्र लुइँटेलले कलाको क्षेत्र विशाल रहेको बताउँदै कलामा विज्ञान र विज्ञानमा कला रहेको र मानिसलाई सम्पूर्ण रूपमा विकास गर्न कलाको भूमिका हुने बताउनुभयो । उहाँले राख्नुभयो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपालमा कला विषयमा एमए तह र पिएचडी तहसम्मको अध्ययन–अध्यापन सुरु भएको बताउँदै कलाशिक्षालाई व्यापक र विस्तृत गर्नका लागि यस सामूहिक कलाशिक्षक, कलासमीक्षक, कलाकारको छलफलले एउटा निचोडमा पु¥याउने र नेपालमा कलाशिक्षा कसरी अध्ययन–अध्यापन भइरहेको छ भन्ने कुरालाई अगाडि ल्याउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नेपालका काठमाडौं र काठमाडौंबाहिरका कलालाई कसरी पाठ्यक्रममा गर्ने समेट्ने भन्ने विषयमा सहकार्य गर्न प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनुभयो । कलाको पुनर्जागरणको यस समयमा कलालाई सिप र रोजगारीयुक्त बनाउनुपर्नेमा उहाँको जोड थियो ।
उक्त कर्यक्रममा डा. बालचन्द्र लुइँटेल, सागर मानन्धर, अरुनाभा दासगुप्ता, सुजन चित्रकारले कार्यपत्र तथा विद्यार्थी रोजन घिमिरे, सुबोध घिमिरे, निजा महर्जनले आफ्ना अनुभवहरु व्यक्त गर्नुभएको थियो ।