नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र Institute of Engineering (IOE), Thapathali Campus को वास्तुकला विभागको संयुक्त आयोजनामा आइतबारबाट सुरु भएको Design Studio VI Exhibition को सन्दर्भ पारेर सोमबार (२०८० फागुन २८ गते )अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, Institute of Engineering (IOE) का वास्तुकला विभागका शिक्षकहरु आर्किटेक्ट प्रजल प्रधान, चन्द्र हाकुमिला प्रजापति एवं आर्किटेक्ट दिनेश कोजुका साथै सो विभागका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । प्रदर्शनीमा विद्यार्थीले तयार गरेका आर्किटेक्टका विभिन्न नमूना राखिएको छ ।
कार्यक्रममा बोल्दै सदस्य सचिव थुम्केलीले प्रदर्शनीमा राखिएका आर्किटेक्चरका नमूनाबाट आफू प्रभावित भएको बताउनुभयो । उहाँले यस ज्ञानलाई अर्थतन्त्रसँगै जोडेर अघि बढाएमा यसले रोजगारी र पहिचान दुवै दिने धारणा राख्नुभयो । युवापुस्तालाई प्रेरित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनु जरूरी भएको उहाँको भनाइ थियो ।
आर्किटेक्ट प्रजल प्रधानले प्रतिष्ठानसँगको सहकार्यमा दोस्रोपटक कार्यक्रम गरेको बताउँदै यस्ता कार्यक्रममार्फत एउटा उदाहरण बनेर देखाउने उद्देश्य रहेको धारणा राख्नुभयो । उहाँले विद्यार्थीले अझ मेहनत गर्न आवश्यक रहेको बताउनुभयो । आर्किटेक्ट दिनेश कोजुले यस्ता विषयसँग सम्बन्धित रहेर जनतासँग संवाद गरिरहनुपर्ने बताउनुभयो । उहाँले वास्तुकलाका बारेमा धेरैभन्दा धेरैलाई बुझाउन आवश्यक रहेको बताउँदै नयाँ ढङ्ले सोचेर काम गर्नुपर्ने धारणा राख्नुभयो । आर्किटेक्ट चन्द्र हाकुमिला प्रजापतिले विषयगत अवधारणामा रहेर तयार गरिएका काम प्रदर्शनीमा राखिएको बताउँदै यस क्षेत्रलाई नयाँ ढङ्गले बुझाउने गरी काम भइरहेको जिकिर गर्नुभयो । प्रदर्शनी मङ्गलबार सकिने छ ।