नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागको आयोजनामा आइतबार (२०८० मंसिर १० गते ) साउथ एसिया इस्टिच्युटका MD, Founder & President, Afzal Ahmad तथा MD, Founder & Secretary, Shireen Ahmad सँगको संयुक्त ‘ललितकला संवाद’ कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली, प्राज्ञ पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, सञ्जय बान्तवा, सौरगंगा दर्शनधारी, अरुणा हिङ्माङ, झिङ्मे लामा,  सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालक संगीता थापालगायतका कलाकारको उपस्थिति रहेको थियो ।
अनौपचारिक रुपमा सुरु भएको उक्त कार्यक्रममा साउथ एसिया इस्टिच्युटका सञ्चालक Afzal Ahmad र Shireen Ahmad ले कलाको विश्वव्यापी र स्थानीय रुपमा प्रचार प्रसार, प्रवर्धन गर्न सहकार्य गर्ने कलाको उत्थानको लागि सम्पूर्ण संस्कृतिलाई कदर गर्ने काम पनि संस्थाले गरिरहेको जानकारी गराउनुभयो । कार्यक्रममा कुलपति हार्तम्छालीले संस्थागत रुपमा परियोजनासहितको महत्वको कुरालाई उदारणीय रुपमा प्रस्तुत गर्नुका साथै कलाविधालाई समुदायसम्म जोडेर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले यही बसेर प्रिजेन्टेसनमार्फत कलाको बारेमा जानकारी पाउँदा खुसी लागेको बताउँदै होम अफ द आर्टको अनुभूति भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँहरुबाट लियौं मात्रै दिन सकेनौ । आगामी दिनमा हामीले ढोका खोल्नेछौ । हाम्रो अन्तर्राष्ट्रिय कला विभाग छ । यसैमार्फत पुनः जोडिने कुराको प्रतिबद्धता व्यक्त गर्दछु ।’
वास्तुकला तथा अन्य सिर्जनात्मककला विभाग प्रमुख सौरगंगा दर्शनधारीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको विगत र वर्तमान तथा नेपाली कलाक्षेत्रको विकासका लागि साउथ एसिया इन्स्टिच्युटजस्ता संस्थाले विश्वव्यापी रुपमा खेल्न सक्ने सकारात्मक भूमिकाको बारेमा चर्चा गर्नुभयो । सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक संगीता थापाले साउथ एसिया इस्टिच्युटका Afzal Ahmad र Shireen Ahmad लाई नेपालमा स्वागत गर्न पाउँदा र कलाको विषयमा जानकारी लिन पाउँदा खुसी लागेको कुरा बताउनुभयो ।