नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा मङ्गलवार (२०८१ कार्तिक २७ गते) कलाकार राकेशचन्द्र श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिको सन्दर्भमा आयोजित श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, शनिवारीय चित्रकला अभियान (स्याटरडे प्लेन एअर), राष्ट्रिय ललितकला सङ्घ, अखिल नेपाल ललितकला सङ्घ, आर्ट नेपाल, साइकल कल्चर कम्युनिटी, न्युरो आर्ट नेपाल, अल्कोहल इन्क आर्ट कम्युनिटी नेपालको आयोजनामा भएको श्रद्धाञ्जलि सभामा ललितकला क्षेत्रका प्रतिनिधि तथा कलाकारहरूको उपस्थिति रहेको थियो । श्रद्धाञ्जलि सभामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, पूर्व कुलपति के.के कर्माचार्य, समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राई, वास्तुकला (अन्य) सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, प्रतिष्ठानका पूर्व सदस्य सचिव विपिन घिमिरे, शनिवारीय चित्रकला अभियानका सचिव दिवेश प्रधान, ललितकला सङ्घ नेपालका अध्यक्ष दीपेन्द्रमान बनेपाली, कलाकार राकेशचन्द्र श्रेष्ठका छोरी आभा श्रेष्ठलगायतले उहाँको व्यक्तित्व, कला, कला यात्रा र उहाँसँग जोडिएका विभिन्न स्मृतिहरूको बारेमा चर्चा गर्दै श्रेष्ठले नेपाली ललितकला क्षेत्रमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । २०२४ साल जन्मिनुभएका श्रेष्ठको २०८१ कार्तिक १५ गते निधन भएको थियो । उहाँ शनिवारीय चित्रकला अभियानका संस्थापकसमेत हुनुहुन्थ्यो ।