नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र इन्टरनेसनल वाटर कलर सोसाइटी नेपाल च्याप्टरको सहआयोजनामा आम श्रमजीवी कृषकहरूमा समर्पित ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा शनिवार(२०८१ असार १५ गते)बाट सुरु भएको छ ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनीको विशेष महत्त्व रहेको बताउनुभयो । उहाँले लक्ष्यप्राप्तिका लागि साधक, साधना र साध्यको गठजोड हुनुपर्ने धारणा राख्दै त्यस अर्थमा किसान जलरङ कार्यशाला राखिएको बताउनुभयो । कृषिकप्रति सम्मान, कृषि पेसाप्रति उत्साह, जागरण ल्याउनुपर्ने वर्तमान परिस्थितिअनुरूप नै प्रतिष्ठानले असार १५ अर्थात् धान दिवसका दिनलाई सिर्जनासँग जोड्न ‘किसान’ कला कार्यशाला तथा प्रदर्शनी गरेको हो । आजका कलाकार धेरैजसो कृषि पारिवारिक पृष्ठभूमिबाट आएता पनि तिनका कलामा किसान, कृषि र पर्यावरणीय विषय कम मात्रामा मात्र चित्रण हुने गरेको बताउनुभयो । आजका कलाकारले श्रम, श्रमिकको सम्मान, श्रम संस्कृतिको निर्माण, कृषकका दुःख, पीडा र समस्या, कृषकको दिनचर्या, जीवनशैली, कृषिमा आधुनिकीकरण, कृषि पर्यावरणजस्ता विषय र मुद्दालाई पनि चित्रण गर्नुपर्ने बताउनुभयो । मूलतः सामाजिक रूपान्तरणका लागि, श्रम संस्कृतिको निर्माणका लागि, श्रमिक र श्रमप्रति पारस्परिक सद्भावका लागि जलरङमा मात्र सीमित नभई बहुविधालाई स्वीकार गरी असार १५ लाई कृषिमा जागरण, र कृषकप्रति सम्मान गर्ने काममा ललितकलाकर्मी रङ र रेखाका माध्यमबाट लाग्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति के.के कर्माचार्यले किसाका विषयमा केन्द्रित भई ‘किसान’ जलरङ कला कार्यशाला तथा प्रदर्शनी हुनु राम्रो रहेको बताउनुभयो । ‘किसान वर्ग देशका अभिभावक हुन्, उनकै कारणले हामी बाँचेका छौँ । काम गर्ने, श्रम गर्ने वर्ग किसान हुन्, तिनप्रति सम्मान र श्रम संस्कृतिको निर्माण गर्न प्रतिष्ठानले गरेको यस किसिमको कार्यक्रमले किसानमा पक्कै आशा सञ्चार गर्ने छ किनभने नेपाल कृषि प्रधान देश हो तर आज हाम्रा खेतबारी बाँझा छन्, गाउँमा युवा शक्ति छैनन्, यस किसिमको जटिल समस्याबाट हामी ग्रुजिएका छौँ,’ उहाँले भन्नुभयो ।
अग्रज कलाकार मदन चित्रकारले आफूभित्र जलरङ नसा नसामा रहेको बताउँदै जलरङकर्मीहरूका लागि यो कार्यक्रम विशेष महत्त्वको रहेको र यसले जलरङकर्मीहरूलाई एकै ठाउँमा जमघट गराएको बताउनुभयो । उहाँले हिजोको पुस्ताले जलरङमा सिर्जना गर्दा सामान/उपकरण गठजोडमा समस्या भोग्नुपरे तापनि आजका जलरङकर्मी पुस्ता भाग्यमानी रहेको विचार राख्नुभयो । साथै उहाँले प्रतिष्ठानले जलरङकर्मी र किसानप्रति सम्मान गर्दै रचनात्मक कार्यक्रम गरेको र युवा वर्गमा जलरङप्रतिको उत्साह बढेको देख्दा खुसी लागेको बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले असार १५ अर्थात् धान दिवसका दिन वर्षाकालीन समयमा ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनी गरी सम्पूर्ण श्रमजीवी किसानप्रति सम्मानभाव व्यक्त गर्न खोजिएको बताउनुभयो । उहाँले समाज रूपान्तरण श्रम, श्रमिकप्रति सम्मान र पारस्परिक सद्भाव र सम्मानबाट हुने आत्मरूपान्तरणविना समाजिक रूपान्तरण हुन नसक्ने जिकिर गर्दै श्रम संस्कृतिको निर्माणमा सहयोग, कृषक वर्गमा सम्मान, कृषिमा जागरण र जलरङकर्मीप्रति सम्मान गर्नका लागि ‘किसान’ जलरङ कला कार्यशाला तथा प्रदर्शनीले सहयोग गर्ने बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कृषिप्रधान देश नेपालमा ६५ प्रतिशत जनता कृषिकर्ममा आबद्ध रहेको र तिनै श्रमजीवी किसानवर्गप्रति समर्पित हुँदै कृषिको जागरण र किसानको सम्मानका लागि प्रतिष्ठानको अनुसन्धान, सिर्जना र सम्मान नाराअनुरूप नै रङ र रेखाका माध्यमबाट ‘किसान’ जलरङ कला कार्यशाला तथा प्रदर्शनी गरिएको बताउँदै प्रदर्शनीमा ६५ जनाभन्दा बढी कलाकारका ८० कलाकृति राखिएको र प्रदर्शनी २१ गतेसम्म चल्ने बताउनुभयो । ‘किसान हाम्रा बाँच्ने आधार हुन्, त्यसैले प्रतिष्ठान किसानसँग जोडिएको छ, हाम्रा कला, सिर्जनाले समाज, किसान, कृषिका विषयवस्तुमा बोल्नुपर्छ,’ भन्दै थुम्केलीले सामाजिक पारस्परिक सद्भाव र श्रम संस्कृति निर्माणमा कलामार्फत लाग्नुपर्ने बताउनुभयो । साथै उहाँले इन्टरनेसनल वाटर कलर सोसाइटी नेपाल च्याप्टरले जलरङका क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेको विचारसमेत राख्नुभयो । प्रदर्शनीका संयोजक तथा आइडब्लुएस नेपाल च्याप्टरका अध्यक्ष एनबी गुरुङले प्रतिष्ठानसँगको सहकार्यमा पहिलो पटक जलरङ कला कार्यशाला तथा प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउँदै यसबाट जलरङकर्मी र कृषक वर्गप्रति सम्मान भाव व्यक्त हुने बताउनुभयो । कार्यक्रममा अग्रज कलाकार हरेराम जोजुले जलरङको इतिहास, टेक्निक र यसका विविध आयामका पक्षमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा अग्रज कलाकार राधेश्याम मुल्मी, अग्रज कलाकार रतनकुमार राई, प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू प्रदिप अधिकारी र अरुणा हिङमाङ, सोफज नेपालका अध्यक्ष केशव राज खनाल, दीपेन्द्रमान बनेपाली, महेश आचार्य, डिल्लीराज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

