नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभा शुक्रबार (२०८० मङ्सिर २९ गते )बाट सुरु भएको छ । सभाको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किरातीले भाषा र लिपिको आविष्कारभन्दा पहिला कलाको विकास भएको कुरा बताउनुभयो । उहाँले नेपालमा विविध स्थानमा छरिएर रहेका सम्पदाहरूलाई जोगाउन सकेमा पर्यटनको विकास अझ सहज हुने बताउनुभयो । ‘कला, संस्कृतिको उत्थानका निमित्त तपाईँहरूले अहोरात्र काम गरिरहनुभएको छ । यसको विकास गर्न प्राज्ञिक क्षेत्रले विशेष योगदान गर्नुपर्ने छ ।’, उहाँले थप्नुभयो ।
यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले २०६४ को ऐनबाट सञ्चालित तीनवटै एकेडेमीले काम गरिरहेको तर २०७२ को संविधानपछि प्राज्ञिक काम र तीनका अधिकार प्रदेशमा पनि गएको प्रसङ्ग जोड्दै कसले कति काम गर्ने अन्योलको स्थिति रहेको बताउनुभयो र यसलाई व्यवस्थित र सजिलो कसरी बनाउने भन्ने विषयमा छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।
यसै गरी सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राई सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति रागिनी उपाध्यायले १५ औँ प्राज्ञ सभालाई शुभकामना दिँदै प्रतिष्ठानले आगामी दिनमा राष्ट्रियसँगै अन्तर्राष्ट्रिय कलासम्मेलन/प्रदर्शनी जस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान तथा यसबारे पहल गर्न पूर्वकुलपतिको हिसाबले म आफूले सकेको सहयोग गर्छु ।’
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले संस्कृतिको सैद्धान्तिकरण गर्ने र नेपाली कलाको विषयमा देखिएका समस्यालाई एकीकृत रूपले नीति बनाएर अघि बढ्ने कुरा बताउनुभयो । उपकुलपति लालकाजी लामाले १५ औँ प्राज्ञ सभा विशेषतः नीतिनिर्माण र पुनर्जागरणका लागि आगामी रोड म्याप तयार गर्ने र रैथाने कला तथा ज्ञानलाई अघि बढाउँदै लैजाने कुरामा केन्द्रित हुने बताउनुभयो । कार्यक्रमको समापन गर्दै कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठान अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै कला÷सिर्जनालाई सामजिकीरण गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, पूर्व कुलपति, उपकुलपति, मानार्थ सदस्य, अग्रज कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो । उद्घाटनपश्चात प्राज्ञसभाको बन्दसत्र सुरू भएको छ । प्राज्ञसभा शनिबार समापन हुनेछ ।