नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभाग,मूर्तिकला विभाग तथा हरेकृष्ण सिरामिक्सको संयुक्त आयोजनामा मिति २०७४ जेठ ९ गते सेरामिक्स हस्तकला तथा मूर्तिकला कार्यशाला २०७४ को समापन भयो । भक्तपुरको पोटरी स्क्वायरमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, विशेष अतिथिको आतिथ्यता वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तेजेश्वर बाबु गोगंजु तथा सभापतित्व प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य एवं हस्तकला विभाग प्रमुख श्री सुषमा राजभण्डारीले गर्नुभएको थियो । ३ दिनसम्म चलेको उक्त कार्यशालामा ३ जना प्रशिक्षक तथा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रागिनी उपाध्यायले सहभागीहरुलाई वधाई दिँदै यति छोटो समयमा कलाकृतिहरु सृजना गरेर आफ्नो प्रतिभा देखाएको बताउनुभयो । उहाँले सार्क देशका पोटरहरुको वृहत कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । विशेष अतिथि तेजेश्वर बाबु गोगंजुले कलाले हजारौं भाषा बोल्ने बताउँदै सिक्नको लागि धेरै समय नचाहिने कुरा यो कार्यशालाले प्रमाणित गरेको जनाउनुभयो । सभापति सुषमा राजभण्डारीले हस्तकला देशको मेरुदण्ड भएको बताउँदै यो कार्यशालाबाट आर्जन गरेको सीपले प्रशिक्षार्थीहरुको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रशिक्षक महेश्वर प्रजापति तथा प्रशिक्षार्थी उषा श्रेष्ठले कार्यशाला अवधिको अनुभव समेत सुनाउँदै कार्यशालामा सहभागी हुन तथा काम गर्ने मौका दिएकोमा धन्यबाद व्यक्त गनुभयो । 
उक्त समारोहमा ३ दिने कार्यशालाबाट सृजित कलाकृतिहरुको प्रदर्शनी तथा प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।