नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गढवा गाउँपालिकाबीच सेरामिक्स हबका सम्बन्धमा मंगलबार (भाद्र ५ गते) छलफल भएको छ । संभाव्यता अध्ययन टोलीका संयोजक आशाराम चौधरीको उपस्थितिमा भएको छलफलमा विशेष अतिथिको रुपमा सहभागी हुनुभएकी गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले गढवा गाउँपालिकाको माटोलाई उत्कृष्ट ठानेर उक्त स्थानलाई सेरामिक्सको हबको रुपमा छनोट गरेकोमा प्रतिष्ठानप्रति आभार प्रकट गर्नुभयो । प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले उक्त क्षेत्रको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गरेपश्चात आगामी दिनमा थप काम अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गढवा, खैरा, जेठान गाउँमा रहेका कलाकारहरुसँग प्रत्यक्ष भेटेर सेरामिक्स तथा कलाका विविध पक्षका बारेमा छलफल ग¥यौं ।’ विज्ञ कलाकार गोपाल कलाप्रेमीले हबका विविध पक्षबारे चर्चा गर्दै त्यहाँ भएका प्राविधिक कमीकमजोरी र हबका लागि आवश्यक पर्ने पूर्वाधारहरुको विषयमा प्रष्ट पार्नुभयो । त्यस्तै, गढवा गाउँपालिका वडा नं ६ का अध्यक्ष वीरबहादुर थापा तथा वडा नं ३ का अध्यक्ष तुलसी अधिकारीले हबको योजना तर्जुमा गर्न उक्त क्षेत्र चयन गरेकामा प्रतिष्ठानप्रति आभार प्रकट गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले कर्मचारी, जनप्रतिनिधि र प्रतिष्ठानको एउटा कोर टीम बनाई हब निर्माण कार्यमा अघि बढ्दा अझ सजिलो हुने धारणा राख्नुभयो । कलाकारहरु देवीलाल थारु, कालु थारुले व्यवसायिक ढंगले काम गर्नेहरुको अभाव रहेको बताउनुभयो । छलफलको निर्णयअनुसार बुधबार अग्रज कलाकार गोपाल कलाप्रेमीले सेरामिक्सको विषयगत, प्राविधिक, ऐतिहासिक तथा अन्य विविध पाटोबारे गढवा, खैरा, जेठानसँगै यस कलाको बारेमा चासो राख्ने गाउँपालिकाका अन्य कलाकारलाई जानकारी गराउनुहुनेछ ।