लुम्बिनी प्रदेशको दाङस्थित गढवा गाउँपालिकालाई सेरामिक्स कलाको हब बनाउने तथा ललितकला क्षेत्रको पहुँचलाई विस्तार गर्ने उद्देश्य अनुसार असार ३१ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गढवा गाउँपालिकाबीच सम्झौता भएको थियो । सो सम्झौताअनुसार उक्त विषयमा अध्ययन गरी कार्ययोजनाको खाका सहितको प्रतिवेदन पेश गर्न गठित समितिले आवश्यक काम सुरु गरेको छ । यसका सिलसिलामा गाउँपालिकाका वडा नं. ३ को वडा सदस्य आसाराम चौधरीको संयोजकत्वमा प्राज्ञ दिनेश्वर महतो, अग्रज कलाकार गोपाल कलाप्रेमी, गाउँपालिकाको वडा नं ६ का वडा सदस्य मानु कुमाल तथा वडा नं ३ का वडा सदस्य तथा कलाकार चुनुराम थारु लगायतको टोलीले गढवा गाउँपालिकाका गढवा (वडा नं ६), खैरा (वडा नं ३), जेठान (वडा नं १) मा भ्रमण गरी स्थानीय कलाकारहरुले परम्परागत शैलीमा गरिरहेको कामको अध्ययन र उहाँहरुले भोग्नुपरेका विविध समस्याहरुका बारेमा सोमबार (भाद्र ४ गते) छलफल गरिएको छ ।