नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा रामेछापको सुनापति गाउँपालिका र सुनापति प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबार (२०८० चैत २६ गते) गाउँपालिकालाई ‘सुनापति थाङ्कु कला हब’ घोषणा गरिएको छ । पालिकाको वडा नं ४ मा आयोजित एक औपचारिक कार्यक्रममार्फत बागमती प्रदेशका प्रदेशसभा सदस्य युवराज चौलागाईंले सोको घोषणा गर्नुभएको हो । यससँगै पालिकामा ३ महिने थाङ्का कला प्रशिक्षण कार्यक्रम पनि सुरुवात भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रदेशसभा सदस्य युवराज चौलागाईंले यस घोषणालाई लिएर पालिकाका सम्पूर्णले गौरव गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न यो एउटा उत्कृष्ट कार्यक्रमको सुरुवात भएको छ । यसलाई बचाउन र विकास गर्न जरुरी छ । मैले यसलाई पहिलो पाइलाको रूपमा लिएको छु ।’ थाङ्का कला पहिचान र अर्थतन्त्रसँग जोडिएको बताउँदै उहाँले यसले उद्योगसँगै जागिरको पनि विकास गर्ने तथा यस्ता कला र सम्पदा केन्द्रित कार्यक्रम अन्य पालिकाले पनि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले पालिकालाई थाङ्का हब घोषणा गर्नुको मुख्य उद्देश्य अग्रज कलाकारलाई सम्मान गर्दै उहाँहरूको ज्ञान नयाँ पुस्तामा लैजानु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले हरित पर्यटनसँगै देशको अर्थतन्त्रलाई समेत योगदान दिनेछ ।’
समारोहमा स्वागत मन्तव्य राख्दै पलिकाका वडा नं ४ का अध्यक्ष डुन्डुप लामाले सुनापतिलाई थाङ्काको छुट्टै ब्राण्ड बनाउनुपर्ने बताउनुभयो । वडाका प्रायः व्यक्तिहरू अग्रज थाङ्का कलाकारहरू भएको बताउँदै उहाँले भन्नुभयो, ‘यहाँ सिकेर बस्नुभएकाले पनि यसलाई निरन्तरता दिनुपर्छ । थाङ्का व्यवसायीसँग छलफल गर्नुपर्छ र यसको निरन्तरता हुनुपर्छ ।’ गाउँपालिकाका पूर्वअध्यक्ष धावा लामाले नेपालमा गणतन्त्र प्राप्त भइसकेपछि सीप सिकाएर देशको उन्नतिमा लाग्नुपर्ने धारणा राख्नुभयो । गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले यस कार्यक्रमलाई पालिकाको पाँचवटै वडामा लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँका महिला पुरुष सबैले थाङ्का लेखिरहेका छन् । सबैले सिकिरहेका छन् । यसलाई अझै व्यापक बनाउँदै थाङ्का हबलाई अन्तर्राष्ट्रिय करण गर्नुपर्दछ ।’ नेपाल पर्यटन बोर्डका सदस्य रामप्रसाद सापकोटाले कलालाई पर्यटनसँग जोडेर लैजानु पर्नेमा जोड दिनुभयो ।
सभाध्यक्ष तथा सुनापति प्रज्ञा–प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङले ऐतिहासिक कार्यक्रमको सुरुवात गरेको बताउँदै यसलाई अवसरको रूपमा लिनुपर्ने बताउनुभयो । थाङ्का कलाको विकासक्रमको बारेमा चर्चा गर्दै उहाँले यस कार्यक्रममार्फत पालिकामा नयाँ थाङ्का कलाकारको उत्पादन गर्दै नेपालमा थाङ्काको उत्कृष्ट गन्तव्य बनाउने योजना रहेको जानकारी गराउनुभयो ।
३ महिने थाङ्का कला प्रशिक्षण कार्यक्रमको प्रशिक्षकको रूपमा कर्मध्वज सिंह तामाङ, विष्णु बहादुर लामा र टहलबहादुर लामा रहनुभएको छ । प्रशिक्षणको पहिलो चरण पालिकाको वडा नं ४ का भलवाडी र डहुमा सञ्चालन हुने छ । त्यसपश्चात यसलाई पालिकाका अन्य स्थानमा लगिने छ ।
समारोहमा विशेष अतिथिको रूपमा पालिकाका उपाध्यक्ष गीता विष्ट, प्रतिष्ठानका प्राज्ञसभा सदस्य लालमान लामा, अशोक लामा, निरीमाया लामा, अग्रज थाङ्का कलाकारहरू साइँला लामा ‘मंगल’, मंगल लामा, हिराबहादुर तामाङ, लालबहादुर तामाङ, सुनापति गाउँपालिकाका प्रशासकीय अधिकृत दिलसुन्दर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कमलबहादुर बमले गर्नुभएको थियो ।