नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा बागमती प्रदेशको रामेछापस्थित सुनापति गाउँपालिकाबीच थाङ्का हब बनाउने विषयमा गठित सम्भाव्यता अध्ययन टोलीले सरोकारीसँग प्रतिष्ठान परिसरमा बुधबार (भदौ ६ गते) छलफल गरेको छ । उक्त कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले, प्राज्ञपरिषद् सदस्यहरु, प्राज्ञसभा सदस्य निरिमाया लामा, लालमान तामाङ तथा सुनापति प्रज्ञा प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङ (सम्भाव्यता अध्ययन टोली संयोजक), डा. अमरध्वज लामा, सुनापति गाउँपालिका ४ का वडाध्क्ष डण्डुप लामा, अग्रज कलाकार फूर्नाम्गेल मोक्तान, विष्णु बहादुर तामाङ, अम्बरध्वज दोङ, नविन लामा, बबरमान तामाङ, असिम लामालगायत दुई दर्जन व्यक्तित्वले हबका विविध पक्षमाथि चर्चा गर्नुभएको थियो ।
उक्त कार्यक्रमको संयोजक मानबहादुर दोङले सुनापतिलाई थाङ्का कलाको हबको रुपमा विकास गर्न सबै पक्ष प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सुनापतिमा थाङ्का हव बनाउने विषयमा प्रतिष्ठानले निकै सोच विचार गरेर काम गरिरहेको बतायनुभयो । उहाँले भन्नुभयो, ‘लामो समयदेखि प्रतिष्ठानले त्यसलाई साकार रुप दिन औपचारिक तथा अनौपचारिक रुपले सुनापति गाृउँपालिकासँग मिलेर काम गरिरहेको छौं ।’ त्यसैगरी सदस्य सचिव देवेन्द्र कुमार काफ्लेले रामेछापको सुनापतिलाई थाङ्का कलाको हब बनाइ नेपाललाई विश्वमा चिनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा सम्भाव्यता अध्ययन टोली सदस्य पाल्साङ्मो लामा सुनापतिलाई थाङ्काको हब बनाउनका लागि नै यस छलफल आयोजना गरिएको बताउनुभयो । कुलपति नारदमणि हार्तम्छालीले सम्भाव्यता अध्ययन टोलीले विस्तृत प्रतिवेदन बुझाएपछि ठोस योजना बनाएर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।