‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार (२०८० फागुन २० गते) बाट धनगढीमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरु भएको छ । प्रदर्शनीको प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभयो । प्रतिष्ठानका लोककला विभाग प्रमुख तथा सुदूरपश्चिम प्रदेश समन्वय समिति संयोजक प्रदिप अधिकारीको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीलगायतको उपस्थिति रहेको थियो । प्रदर्शनीमा ८६ कलाकारका १५० भन्दा बढी कलाकृति राखिएको छ । प्रदर्शनी फागुन २४ गतेसम्म चल्ने छ । यी प्रदर्शनीबाट छानिएका कलाकृतिहरू आउँदो २०८१ जेठ १५ गते काठमाडौँमा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा राखिनेछ ।