‘राष्ट्रिय ललितकला पुरस्कार –२०८०’ प्राप्त गर्नुहुने सातजना कलाकारहरुलाई कला सिर्जनाका निमित्त प्रेरित गराउने उद्देश्यअनुरुप आठमहिने कला सिर्जना गर्ने/गराउने अभियान अर्थात् सिर्जनावृत्तिका लागि ३ जना कलाकारसँग सम्झौता गरिएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ परिषद् सदस्यहरु प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङको उपस्थितिमा कलाकारहरु राज प्रकाश मान तुलाधर, उद्धब राज रिमाल र नम्रता सिंह दनुबारसँग बिहीबार सम्झौता गरिएको हो । सम्झौता अनुसार यस अभियानमा सहभागी कलाकारले आफूले जुन विधामा पुरस्कार पाएको हो सोही विधामा आगामी फागुन/चैतसम्म मौलिक कलाकृति सिर्जना गरेर प्रतिष्ठानमा बुझाउनु पर्नेछ । उक्त कलाकृति प्रतिष्ठान स्थापना दिवसको अवसर पारेर वैशाख २ गते प्रदर्शनी गरिनेछ ।