नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र जरा फाउन्डेसनको सहकार्यमा ‘सम्बन्ध कला प्रदर्शनी २०८०’ बिहीबार(२०८० चैत २२ गते)बाट सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको सभाध्यक्षमा सम्पन्न प्रदर्शनीको समुद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले संयुक्त रूपमा गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कला, साहित्य तथा भाषाले दुई देशलाई जोडेकै कारण नेपाल र भारतको सम्बन्ध राम्रो रहेको बताउनुभयो । उहाँले दुई देशको सम्बन्धलाई सांस्कृतिक कूटनीतिले प्रगाढ बनाउन विशेष भूमिका खेल्ने बताउँदै सांस्कृतिक सिमाना सबैभन्दा बलवान् हुने विचार राख्नुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले सम्बन्ध कला प्रदर्शनीले यति धेरै भारतीय र नेपाली कलाकारलाई एकै ठाउँमा जमघट गरेर आपसमा कला, संस्कृति साटासाट गर्ने अवसर प्रदान गरेको बताउनुभयो । उहाँले यस प्रदर्शनीबाट दुई देशका कलाकारहरूबिच राम्रो सम्बन्ध कायम हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस किसिमको कार्यक्रमले भावनात्मक सम्बन्धलाई बलियो बनाउँछ । आगामी दिनमा ललितकला, नाट्य, सङ्गीत, भाषासाहित्य सबै क्षेत्रलाई समेटेर के कसरी दुई देशबिचका कला, संस्कृति, भाषा साटासाट गर्ने कार्यक्रमहरू गर्न सकिन्छ भन्ने विषयमा सबै मिलेर काम गर्नुपर्दछ त्यसबाट धेरै अनुभवहरू प्राप्त हुने विश्वास लिएको छु ।’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विशेष गरी सांस्कृतिक रूपले नेपाल र भारतको सम्बन्ध राम्रो रहेको बताउँदै ‘नेपाली माटाको हितेरी– ललितकला बाटाको मितेरी’ भन्ने विचार राख्दै मौलिकता जर्गेना गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘व्यक्तिगत भन्दा पनि संस्थागत रूपले यस्ता कार्यक्रम गर्नुपर्छ भन्ने धारणाले सबैभन्दा पहिला छिमेकी देशबाट नै पहिलो खुड्किलो पार गर्ने भन्ने सोचका साथ सम्बन्ध कला प्रदर्शनीको आयोजना गरिएको हो । यस किसिमका कार्यक्रमले सांस्कृतिक रूपमा सामाजिक सद्भावका लागि निरन्तर अघि बढ्न प्रेरित गर्ने र सम्बन्धलाई नवीकरण गर्दै अगाडि बढ्नु पर्दछ ।’
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको यस कार्यक्रमले दुई देशबिचको भावनात्मक सम्बन्ध प्रगाढ हुनुका साथै कला, संस्कृति साटासाट गर्न मद्दत पुग्ने बताउनु भयो । उहाँले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरू अझ प्रभावकारी ढंगले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्लेले कलामार्फत सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने ध्येयका साथ कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा जरा फाउन्डेसनका प्रतिनिधि नरेन्द्रबहादुर श्रेष्ठले एक दशकदेखि कला, साहित्य, भाषा तथा संस्कृतिका क्षेत्रको संरक्षण गर्न जरा फाउन्डेसन स्थापना गरिएको विचार व्यक्त गर्नुभयो । उहाँले यस संस्थाले नेपाल, भारत, बंगलादेश लगायतका विश्वका विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको जनाउनुभयो । उहाँले यस सम्बन्ध कला प्रदर्शनी पनि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिक्किमको ओििवया आर्ट सर्कलसँग मिलेर काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा ओविया आर्ट सर्कलका अध्यक्ष दीपा राईले कलाकारको कुनै सीमा नहुने बताउँदै यस सम्बन्ध कला प्रदर्शनीको विशेष महत्त्व रहेको र यस किसिमका प्रदर्शनीले दुई देशबिचको सम्बन्धलाई झन् प्रगाढ बनाउने बताउनुभयो । कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्यहरू लालमान लामा, अशोक लामा, प्रदीप शाक्य, सङ्गी श्रेष्ठ, झिग्मे लामा, प्राज्ञ रमेश खनाल, कलाकार तथा कलालेखक नगेन्द्रप्रसाद पौड्याल, देवेन्द्र केसी, जरा फाउण्डेसनका सदस्य सिर्जना शर्मा लगायतको उपस्थिति रहेको थियो । प्रदर्शनीमा नेपालबाट कलाकार निरीमाया लामा, नरेन्द्रबहादुर श्रेष्ठ, नगेन्द्रप्रसाद पौड्याल, केशव राज खनाल, मन गुरुङ, इन्द्र श्रेष्ठ, पासाङविक्रम लामा ‘मंगोलपुत्र’ गणेश लामा, दिवेश प्रधान, एनबी गुरुङ, कृष्णगोपाल श्रेष्ठ, राजकुमार राना मगर, खेम घिमिरे, डिबी राई, विक्कुकुमार थापा, गौरीमाया कोजु याकामी, प्रकाश मिजार, पुजा महर्जन, रविन्द्र मानन्धर, रविन्सन श्रेष्ठ, रिति महर्जन, सुजिता महर्जन, छितेन शेर्पा रहनुभएको छ । यस्तै, भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङका कलाकारमा दिपा राई, धिरज प्रधान, विकास सुब्बा, विमला प्रधान, बुद्धिकुमार सुब्बा, चन्दुप लेप्चा, कमल राई, कृष्ण राई, पासाङ शेर्पा, फुर छिरिङ लेप्चा, रिचार्ड जि लेप्चा, सागर सुब्बा र टिका प्रधान रहनुभएको छ ।