नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र जरा फाउन्डेसनको सहकार्यमा बिहीबार(२०८० चैत २४ गते)बाट सुरु भएको ‘सम्बन्ध कला प्रदर्शनी २०८०’ शनिबार सम्पन्न भएको छ । नेपाल र भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङका कलाकारहरूको सहभागिता रहेको उक्त प्रदर्शनीको समापन कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले छिमेकी देशबाट आउनु भएका कलाकारबिच अनुभव साटासाट गर्न र आपसमा सम्बन्ध विस्तार गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले दुई देशको कलाको विषयवस्तु, सिप, विकास, दृष्टिकोणलाई बुझ्न यस कार्यक्रमले थप सहयोग गरेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले रङ्ग र रेखाको भाषा विश्वभाषा भएको बताउँदै यस कार्यक्रमले दुई देशका कलाकारबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने बताउनुभयो । साथै उहाँले नेपालकोे कला, संस्कृति र सभ्यतालाई यस्ता प्रदर्शनीले थप प्रवर्धन गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । ओविया आर्ट सर्कलका अध्यक्ष दीपा राईले आयोजकप्रति आभार व्यक्त गर्दै नेपालको बसाइको छोटो समयमा धेरै कुरा सिक्न पाएको बताउनुभयो । उहाँले यो सम्बन्धलाई निरन्तरता दिँदै यस्ता कला गतिविधिलाई आगामी दिन निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । जरा फाउन्डेसनका प्रतिनिधि नरेन्द्रबहादुर श्रेष्ठले कार्यशाला तथा प्रदर्शनीमा सहभागिता जनाउने कलाकार तथा आयोजकप्रति आभार व्यक्त गर्नुभयो । समापन समारोहमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य प्रदिप अधिकारी, दिनेश्वर महतो तथा प्रदर्शनीमा सहभागी कलाकार, सङ्संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
प्रदर्शनीको सन्दर्भ पारेर शुक्रबार कला कार्यशाला, कवि गोष्ठी सम्पन्न भएको थियो । त्यस्तै, शनिबार भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङका कलाकारहरूले भक्तपुर दरबार क्षेत्रलगायतका स्थानमा भ्रमण गर्नुभएको थियो । यस प्रदर्शनीमा नेपालबाट कलाकार निरीमाया लामा, नरेन्द्रबहादुर श्रेष्ठ, नगेन्द्रप्रसाद पौड्याल, केशव राज खनाल, मन गुरुङ, इन्द्र श्रेष्ठ, पासाङविक्रम लामा ‘मंगोलपुत्र’ गणेश लामा, दिवेश प्रधान, एनबी गुरुङ, कृष्णगोपाल श्रेष्ठ, राजकुमार राना मगर, खेम घिमिरे, डिबी राई, विक्कुकुमार थापा, गौरीमाया कोजु याकामी, प्रकाश मिजार, पुजा महर्जन, रविन्द्र मानन्धर, रविन्सन श्रेष्ठ, रिति महर्जन, सुजिता महर्जन, छितेन शेर्पा रहनुभएको थियो । यस्तै, भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङका कलाकारमा दिपा राई, धिरज प्रधान, विकास सुब्बा, विमला प्रधान, बुद्धिकुमार सुब्बा, चन्दुप लेप्चा, कमल राई, कृष्ण राई, पासाङ शेर्पा, फुर छिरिङ लेप्चा, रिचार्ड जि लेप्चा, सागर सुब्बा र टिका प्रधानको सहभागिता रहेको थियो ।