नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार (२०८० माघ २४ गते) बालकृष्ण समको १२२ औँ जन्मजयन्तीको सन्दर्भ पारेर ‘सम्झनामा बालकृष्ण सम’ विषयक विचार गोष्ठी तथा अन्तरक्रिया, कवितावाचन, चित्रकला कार्यशाला र वृत्तचित्र प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिले संयुक्त रूपमा दीप प्रज्जवलन गरी सुरुवात गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बालकृष्ण सम र समको कलाकृतिबारे आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समलाई सापेक्ष रूपमा चर्चा गर्नुभन्दा पनि तत्कालीन अवस्थामा रहेर हेर्नु वाञ्छनीय हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँ समग्र कला, साहित्य क्षेत्रको अभिभावक मात्र नभई बहुआयामिक व्यक्तित्व हो ।’
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले तीनवटै प्रज्ञा–प्रतिष्ठानले अहिले नयाँ मानक स्थापित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीनवटै प्रतिष्ठान मिलेर गरेको यो पहिलो र उदाहरणीय कार्यक्रम हो ।’ राईले समलाई नाटककारका रूपमा बढी चिनिएको भए तापनि उहाँ साहित्य तथा चित्रकलाको क्षेत्रमा अब्बल रहेको बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठनाका कुलपति निशा शर्माले सम साहित्य र रङ्गमञ्चसँगै चित्रकलाको विधाका मूर्धन्य कलाकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म कलाकारहरूले उहाँका कृतिमाथि तयार गरेका चित्रहरू हेर्न आतुर छु ।’
समालोचक डा.अशोक थापाले ‘समको गुणात्मक नाट्य योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उहाँको कार्यपत्रमाथि उपप्राध्यापक विष्णु ज्ञवालीले टिप्पणी गर्नुभएको थियो । नेपाल कलाकार समाजले निर्माण तथा प्राज्ञ रमेश खनालको लेखन तथा निर्देशनमा बालकृष्ण समका चित्रकारिताका विषयमा तयार भएको वृत्तचित्र प्रदर्शन गरिएको कार्यक्रमममा सन्ध्या पहाडी, राधा कार्की, बाबा बस्नेत, विष्णु ज्ञवालीले समका कविताहरू वाचन गर्नुभएको थियो ।
समकै जयन्तीको अवसर पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बालकृष्ण समको नाटक प्रह्लाद, प्राज्ञपरिषद् सदस्यहरू प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, अरुणा हिङमाङ, रमेश खनाल, कलाकार लिलाधर केसी र दीपेन्द्रमान बनेपालीले क्रमशः भीमसेनको अन्त्य, अन्धवेग, चिसो चुल्हो, प्रेमपिण्ड र स्वास्नीमान्छेलगायतमा आधारित रहेर कलाकृतिको निर्माणसमेत गर्नुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू कर्णबहादुर गौतम विद्रोही, डक्टर किरात, बखतबहादुर हमाललगायतको उपस्थिति रहेको थियो ।