नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा समाचार लेखन, प्रसारण तथा समीक्षा लेखन प्रतियोगितामा उत्कृष्टहरुलाई बुधबार पुरस्कृत गरिएको छ । जसअन्तर्गत समाचार लेखन तथा प्रसारण प्रतियोगितामा सुकृत नेपाल (गोरखापत्र), रेनुका ढकाल (दि राइजिङ नेपाल), उर्जा आचार्य (दि काठमाडौं पोस्ट), दिपेन्द्र ढुंगाना (नयाँ पत्रिका), हेमन्त गौतम (एनटिभी प्लस) पुरस्कृत हुनुभएको छ । यसको राशी जनही ५ हजार र प्रमाणपत्र रहेको छ । त्यस्तै, समीक्षा लेखन प्रतियोगितामा दियालक्ष्मी जोशी (एमएफए, काठमाडौं विश्वविद्यालय), प्रतिभा खड्का (बिएफए, ललितकला क्याम्पस, प्रतिभा तिवारी (बिएफए, ललितकला क्याम्पस) पुरस्कृत हुनुभएको छ । यसको राशी क्रमशः १०, ८, ६ हजार र प्रमाणपत्र रहेको छ ।

कार्यक्रममा बोल्दै उपकुलपति लालकाजी लामाले ‘राष्ट्रिय ललितकला प्रदर्शनी– २०८०’ भव्य र सभ्य बनाउन सञ्चार माध्यमको प्रमुख भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसमा गहन अध्ययनको अपरिहार्यता थियो । त्यो कार्यलाई सम्पन्न गर्नुभएकोमा यहाँहरुलार्ई बधाई दिन चाहन्छु ।’

नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले प्रतिष्ठानले गरेको यस काम सकारात्मक भएको बताउँदै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कुलपति नारदमणि हार्तम्छालीले प्रतियोगिताको समीक्षालाई विशेषतः अंकको आधारमा भन्दा पनि ग्रेडको आधारमा मूल्याङ्कन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले यसलाई क्रिटिकल रुपमा हेरिदिनु भएको भए अझ राम्रो हुने थियो । यो कार्यक्रम एकदमै महत्वपूर्ण छ ।’ उहाँले सञ्चार माध्यमले राष्ट्रिय ललितकला प्रदर्शनीलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
समीक्षा लेखन प्रतियोगितामा पुरस्कृत दियालक्ष्मी जोशीले समीक्षा लेखन आफ्नो लागि नयाँ अनुभव भएको बताउँदै यत्तिको ठूलो प्रदर्शनी आफूले पहिलोपटक देखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ राखिएका विविध क्याटेगोरीसँगै काठमाडौ बाहिरका कलाकारलाई पनि समेटेको पाएँ ।’ अर्का पुरस्कृत प्रतिभा खड्काले प्रदर्शनीबाट आफूले कलाका विविध पक्षका बारेमा जानकारी पाएको बताउनुभयो । उहाँले मुख्यतः संस्कृति झल्कने कलाकृति तथा प्रतिस्थापन कलाले आकर्षित गरेको बताउँदै कलाको यसपर्व महत्वपूर्ण रहेको जिकिर गर्नुभयो । अर्का पुरस्कृत प्रतिक्षा तिवारीले कलाको सुरुवात, महत्वसँगै कलाका विविध पक्षका बारेमा नयाँ कुरा सिक्ने अवसर पाएको बताउनुभयो । समाचार लेखन, प्रसारण प्रतियोगितामा पुरस्कृतमध्येबाट हेमन्त गौतमले कार्यक्रम प्रसारण गरेबापत पहिलोपटक पुरस्कृत भएको धारणा राख्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का संयोजक लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, लोककला विभाग प्रमुख प्रदिप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, चित्रकला विभाग प्रमुख सञ्जय राई वान्तवा, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, प्राज्ञसभा सदस्य अशोक लामा र महेन्द्र सुनार, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल लगायतको उपस्थिति रहेको थियो ।